भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पानी जल्दछ बल्दछ अनि सधैँ ... / केदार गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पानी कहिले कुनै चेपबाट मुहान फुटेर कुलुलु गर्दै बग्दछ
कहिले अग्लो भीर वा पहरा नै पट्ट फुटाएर झरर झर्दछ
कहिले कुवा, दह र पोखरी भएर पनि जम्ने गर्दछ
कहिले तिर्तिरे धारो वा छाँगो भएर खस्ने गर्दछ
कहिले खोला, नहर, नदी वा समुद्र भएर बग्दछ
अनि फेरि अन्तिम विस्तारसम्म सागर भएर जम्दछ
अनि कहिले पहराभित्र गन्धक वा क्षारसित गुम्सिएर
तातो पानी भएर भक्भक उम्लँदै बाहिरतिर पोखिन्छ
कि त शक्तिशाली ज्वालामुखी पर्वतको
        - उम्लँदो लाभा भएर फुट्दछ
कहिले विद्युत-शक्ति भएर आगो जस्तै जल्दछ र भष्म पार्दछ
कहिले भीषण मेघ-गर्जनसहित चम्केर वज्र प्रहार गर्दै -
         कठोर ढुंगा वा पहरा नै फोर्दछ
कहिले विद्युतको रूपमा सूर्य जस्तै उज्यालै-उज्यालो भएर बल्दछ
कहिले संचालकको रूपमा यन्त्र वा कारखानाहरू चलाएर
सम्पूर्ण आवश्यक वस्तुहरू उत्पादन पनि गर्दछ
कहिले रातभरि शीत भएर बिहानभरि पातहरू टल्कने गर्दछ
कहिले दिनभरि बाफ र बादल भएर आकाशतिर उडने गर्दछ
तर सामान्य तापमानदेखि शून्य बिन्दुसम्म पुग्दा पानीको रूप
तुषारो, असीना, हिउँ र हिमपात भएर सेतै हुन पुग्दछ
अनि कहिले उचाइको मापदण्ड घटेर समुद्रतलको
शून्य बिन्दुमा पुग्दा पनि खार वा नुन भएर
पानीको रूप फेरि सेतै हुनुपुग्दछ
अनि अग्लो डील वा पहराबाट खसेर
धारा वा छाँगु भएर उर्लंदा पनि
पानीको रूप सधैँ सेतै देखिइने गर्दछ
खोला वा नदीतिर कुनै बाधक तत्वसित थर्रिएर
छाल भएर उलँदा पनि यसको रूप सेतै हुनपुग्दछ
अनि जब गहिराइमा पुगेर अथाह गतिमा बग्न थाल्दछ
यसको रूप बिस्तारै बदलिंदै हरियो र नीलो हुनपुग्दछ।
त्यसर्थ हामीले प्रतीक र विम्बहरूमा बुझनु पर्दा सधैँ
सेतोको अर्थ पवित्र, हरियोको अर्थ प्रगतिशील हुँदछ भने
नीलोको अर्थ गहिराइ वा टाढा अनि धमिलोको अर्थ अस्पष्ट
वा अनिश्चितता भन्ने बुझिन्छ अनि
छाल उर्लिनुको अर्थ कसैले बाधा दिएर संघर्ष गर्न
        - वाध गराउँछ भन्ने बुझ्नुपर्दछ।