भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
पानी / मौन आवाज
Kavita Kosh से
					
										
					
					जल्लादले मान्छे मारिसकेपछि
आफ्नो रक्ताम्य हात पानीले धोयो 
जल्लादको हात सफा भयो
तर
पानी रक्ताम्य भयो !
रक्ताम्य पानी -
खोला / नदी र खोल्सामा बग्यो 
छाँगा / छहरा र झरनामा बग्यो 
बग्यो - समयको गतिशीलतामा 
युगको अनन्ततामा ।
बग्दै / बग्दै एकदिन त्यो रक्ताम्य पानी 
एउटा भिक्षुको अञ्जुलीमा आइपुग्यो 
मन्दिरमा जल चढाइरहेको भक्तको हातमा आइपुग्यो 
पितृलाई तर्पण दिइरहेको 
एउटा अभागी छोराको हातमा आइपुग्यो ।
यसरी -
जल्लादले हत्या गरेको मान्छेको रगत 
पानीमा मिसिएर जल्लाद कै मुखमा आइपुग्यो !
०००
 
	
	

