पुनरागमन / लोपा बनर्जी / सुमन पोखरेल
पुरानो प्रेम आधा लेखिएका अक्षरमा निसङ्कोच देखापर्छ ।
पुरानो प्रेम समयको चिप्ले टेकोमा लुक्न आइपुग्छ
हुत्तिएर आउँछ, गुलियो मुस्कान चम्काउँछ
पुरानो प्रेम मलाई च्याप्प समाउँछ र छाड्छ,
र धेरै दिनदेखि ओढिरहेको खोल फुकालेर रुन्छ ।
पुरानो प्रेमले मलाई धूँवा, कफीको चुस्की र हाइ काढेको मुद्रासँगै भेट्टाउँछ
डरलाग्दो र अस्पस्ट अनुहार बोकेर मलाई भेट्न आउँछ ऊ
म उसलाई ग्रहण गर्छु, र हामी बात मार्न थाल्छौँ
सावधानीपूर्वक जिस्किँदै एकअर्कालाई अभिवादन गर्छौँ हामी ।
हामी छाया र केरमेट हुँदै गरेका अक्षरहरूमा
आत्मीयताकासाथ लोभलाग्दो गरी एकै मनले कुरा गर्छौँ ।
हामी आफ्ना हत्केलाबाट ढङ्ग नपुगेका चुम्बनहरू दल्छौँ
र वर्जित स्वैरकल्पनामा रमाउँछौँ।
हामीलाई खुसि दिने मुलायम चराजस्तै हाम्रो शुभेच्छुलाई
दैनिक कामको झटारोले हिर्काउन थाल्छ ।
हराएका शब्दहरूको एउटा खेस्राकिताब कोठाभरि झोक्राइरहन्छ ।
मेरा हात पाठो-प्रेमको नीलो, हरियो र बैजनी रङ लिएर
बेगारी गतिमा ऊतिर फैलन्छन् ।
धमिलिँदै, प्रतिध्वनित हुँदै जान्छ हराएको लयको साँचो
र
पग्लिँदै, तैरिँदै बिलाउँदै बाटो काट्न थाल्छ
एउटा मलिन र अप्ठ्यारो सपना ।
पुरानो प्रेम,
मेरो ह्वाइटबोर्ड-अनुहारमा लागेको अनन्त दाग,
अज्ञात चम्क्याइ र झिल्काहरू भएर
मलाई चम्मिलो स्मृतिमा बोलाउँछ ।
दुब्ली, केश फुलेकी र हराइसकेकी म
टाढैबाट हेरिरहन्छु त्यसलाई
र
हामीले प्रयोग गरिसकेका दिनहरूको पातलो गन्धसँगै कोठाबाट निस्कन्छु ।