भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पुनरावलोकन / मौन आवाज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जहाँसम्म लाग्छ
म हिँडेको नै हुनेछु ।

किनाराहरूमा
खोलाका किनाराहरूमा
बाटोका किनाराहरूमा
सम्झनाका किनाराहरूमा ।


जहाँसम्म हिँडेको हुनेछु -
एउटा आकार
एउटा लय
नापेर केही ज्यामितिगत दुरिहरू
म निरन्तर निरन्तरताहरूमा हिँडेको हुनेछु !

स्पर्शहरूमा
भावहरूमा
समयका विविध अवस्थाहरूमा
अवस्थाहरूका विविध समयहरूमा
प्रिय / अप्रिय व्यतीत घटनाहरूमा
म हिँडेको नै हुनेछु !

जहाँ - जहाँसम्म पुगेको हुनेछु
निर्जन टाकुराहरूमा
उच्चाट मरुस्थलहरूमा
हिउँका कठिन चुलीहरूमा
हरिया पर्वतहरूको यात्रामा
म हिँडेको हुनेछु
एउटा मान्छे हिँडेको पद्चाप माटोलाई सुनाउँदै !

म भएको हुनेछु
आउने दिनहरूमा
जाने दिनहरूमा !

म गएपछि
आकाशले रुनु पर्दैन
धर्तीले दुख्नु पर्दैन !

मेरो रिक्तता
कसैले भर्नु पर्दैन !

म मान्छेको भीडलाई
मान्छेकै भीडमा छाडेर जानेछु
मेरो एक्लोपन मसँगै लिएर जानेछु !

म धेरै हलुका भुवाको आयातन जत्तिकै
फूलको तौल जत्तिकै
एउटा पहेँलो पातमा चढेर जानेछु !
म गइसकेपछि फर्कन्छु - फर्कन्नँ थाहा छैन !

निस्सारताको अर्थहिन यात्राबाट थाकेर एकदिन
तिमीले पनि यही बाटो आउनुछ ।

मेरो आग्रह छ -
तिमी आउँदा
म बाँचेको कुनैपनि एउटा क्षण
उपहार ल्याइदिनू !

किनकि
अस्तित्वको विघटित ऐनामा
म आफ्नो जीवनलाई
पुनः एकपटक हेर्न चाहन्छु !
०००