पृथ्वीराज चौहान - अष्टदश सर्ग / लक्ष्मीप्रसाद देवकोटा
(१)
एघार सय नब्बे र एक
उही ताल बारीमा ।
थानेश्वरबाट पन्ध्र कोस पर
मैदान भारीमा ।
रातो छ माटो रुधिर पिई
कालीको रणथल
जहाँकी हिन्दू
भारता बन्धु
बचाउन हाम्रो सभ्यता सिन्धु
अर्पेर प्राण गएथे स्वर्ग
कठै ती हाम्रा वीरका वर्ग
सिंचन हाम्रो भारतको बाटो
बहाई रुधिरजल ।
(२)
आज छठूलो समरको सागर
लाल भेल उर्लेको।
गड्गड आँधी पहाड लहर
रुधिरजल छहर छहर्
गुड्गुड गुर्लेको ।
भयङ्कर गर्जन घनघोर घर्षण
कोलाहल ठूलो, हल्ला र गुल्ला
तरबार उठ्दा लाल लाल झल्की
उचाइ खोच वल्ला र पल्ला
हात्ती र घोडा माथिल्ला तल्ला
लाल फींजवाला लहरका कल्की
भाला र खंडा तरबारमा झल्की
रौद्रको स्वर लेको ।
रणका देव मूख बाई आज
छन् तल ओर्लेको ।
(३)
हिन्दूले हान्छन् टाउकामा ताकी
मुसल्मान टाउको एक चोटमा फ्याँकी
भालाको नोक छातीमा जाकी
चाण्डाल भन्दै रीसले हाँकी
तर्साई मुसल्मान ।
सण्ड र मुण्ड रजपूत वीर
देख्दैमा पहलमान ।
चण्डी लाई डाकी
कालीलाई डाकी
गर्धन ताकी
एक चोटमा काटी
लत्याई बाँकी
जोश र फूर्ति बलमा धाकी
देखाई हिन्दुस्तान ।
मुसल्मान् हुन्छन् आच्छु र आच्छु
खाएर मार
पस्ट भै हार
भागूं कि बसूँ दोधार हुन्छन्
न देखी अड्ने ठाम ।
(४)
जन्नते इस्लाम अल्लाले अकबर
अल्ला हो अकबरको ।
आवाज उठ्यो सङ्ग्राम उठ्यो ।
थर्काई सकभरको ।
मुसल्मान जोश बढेर आयो
इस्लामी वीरले ।
धर्मको नाममा, जन्नतको धाममा
राजाको काममा
तिरेर ऋण
विश्वासको शिरले ।
(५)
बर्छा र भाला बर्सिन्छन् काला
हात्तीको सूँडमा ।
कूँ कूँ र कूँ कू गरेर सूँड
लुकाउँदा गज हिन्दूलाई कुल्ची
भाग्दछन् सारा कुल्ची र मिल्ची
कातर गणेश दिएर धोखा
खोल्दछन् वैरी हमलालाई ढोका
हिन्दूलाई मिल्काई पोकाका पोका
राजालाई गरी इज्जतका चोखा
मृत्युका भन्दा ज्यानका भोका
नभई काहीँ के रोक र टोका
इस्लामको खाई बलेको झोका
खलबल पारी होका र भोका
हिन्दूका गुंडमा ।
आज है थाहा वीरले पाए
हात्तीले कस्तो काँतरपन ल्याए
रणका भूमिमा ।
देख्नमा ठूला साहसका शून्य-
हरूको भर नहओस् गण्य
साना र छीटा अश्व नै धन्य
रणका भूमिमा ।
(६)
इस्लामको घोडा छीटा छन् गोडा
कुखुरे कल्की छैनन् है जोडा
हिन्दूका दलमा ।
खलबल पो हल्ला र खल्ला
हिन्दुका फौज हिला र मिला
धेरै नै भई तैपनि भए
के गरूँ दोधार पुर्पुरो चिला
मुसल्मान आयो ठेलम् र ठेला
अस्तमा हुँदा दिनको बेला
रगत जलमा ।
हिन्दुले हार्योे भारत गुम्यो
म्लेच्छको फूर्ति नाचेर घुम्यो
रणका थलमा ।
भारतको रगत त्यस वेला बग्यो
भुल्भुल भलमा ।
हामीलाई वर्णन गाहारो भयो
आँखा भै जलमा ।
(७)
काक र गिद्धहरूले खालान्
चीलका चुच्चाले ।
जहाँ छन् ठूला वीरका तन
रतनहरू भारतका भन
हरायो छुच्चाले ।
सकेनन् तिनले दशाका जोड्मा
हटाउन घुच्चाले ।
तैपनि आत्मा स्वर्गमा पुग्यो ।
अर्पण सच्चाले ।
शरीरलाई दिन्छन् दुष्टलाई तर
लिन्छन् है बाटो स्वर्गको घर
भारतका बच्चाले ।
तिनी हुन् सच्चा भारतका बच्चा
खपेनन् हरे ! इस्लामका घच्चा
जसभित्र भारत रोएर बस्यो
लुटियो लुच्चाले ।
हजार वर्ष रगतका आँशु
आजका निम्तिमा ।
बहाउन हरे ! भारतलाई थियो
आँशुले छाती फारेर रोलाऊ
नसुन बिन्तीमा ।
(८)
हजार विद्या भारतका जले
दिनका ज्वलनमा ।
हजार वर्षका लाली मिले
पश्चिमी गगनमा ।
हिन्दूका छाती सधैलाई जले
म्लेच्छका दमनमा ।
नहेर्ने जति स्वर्गमा पुगे
देवका विमानमा ।
हेर्नेको सधैं आँखा छ लाल
आजको यो दिनमा ।