भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पृथ्वीराज चौहान - प्रथम सर्ग / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

(१)
आँखामा बत्ती, नशामा जोश, मुटुमा फुलाई ।
लिएर पढौं हे भाइ बहिनी
यो कथा मीठो दिललाई छीटो
जीवनको मैन एकान्त वनमा
बसेर जलाई।
बास्ना मीठा इच्छाले सम्झी
संसारको भलाइ ।

(२)
हामीले देख्यौं धपक्क चूली
भारतकी सुनचूली ।
बादल पारि
स्वर्गमा भारी
झल्का र झिल्की जगतमा झारी
देख्नेका नजर धिपिक्क बल्ने
मनमा सुनफूली ।
संसार शिखर
मानवआत्मा
स्वर्ग र पृथ्वी गाँसेर बस्ने
महिमा बिजुली ।
कठिनका पहाड
चढेर हेर्ने
हृदय भीरुहरूको भीड
कल्केर अकेली ।

(३)
वीरका आत्मा हामीले देख्यौँ महिमा अघोर ।
पहाड छाती फूल फुल्ने जाति
वज्रके कठोर ।
महिमाशाली सुनचूली ज्वाली
उदार झर्ना झरझर निकाली
हरियो पारी जगत्को बाली
पृथिवी टेकी स्वर्गमा उड्ने
श्वासले शीतल जोशले भर्ने
सपना-बादल सुनौला भर्ने
कन्दरा-घोषहरूले भर्ने ।
विशाललाई मन्दिरमैं वर्ने
ताराका झल्का आकाशका पर्ने
सिंहका गर्जन वैरीमा गर्ने
शीतल छाया साधुमा पर्ने
पवित्रताका हिउँ सफा झर्ने
युग र युगलाई सुगन्ध वाला
भर्दिने फूलडाली।
हामीले देख्यौँ भारतका आत्मा
अतीत निहाली।

(४)
जब है थियो पहिलो प्रकाश
जब है थियो कनक आकाश
भारत मन्दिरमा ।
जब है थियो धर्मको ज्वाला
सत्यको जय सुन्दरको चाला
शिवको मन्दिरमा ।
तब है थिए जल्दा र जीता
नीडर दिलका
सुन-पङ्खी पलका
वीरका आत्मा फिलिक्क बल्ने
सत्यले सुन्दरमा।

(५)
वीरका हुन्छन् तौल र पत्र
बिजुली मुटुमा ।
झिलिक्क उड्ने सुनको चरो
स्वर्गको भरमा ।
अनन्तकालमा पथको रेखा क्षणले झल्काउने,
पर्खेर आफ्नो चिनेर पला
काँचुली मिल्काउने ।
बोलाउने क्षण जसलाई बिर्सी
मूर्खले सारा बहिरा कानले
अँध्यारोभित्र घुम्दैमा बसे
व्यर्थका ज्ञानले
सत्यको भानले।
 
(६)
मिलेका हुन्छन् वीरका गण
सत्यका चुम्बकमा ।
बुनेका हुन्छन् प्रकृति उनमा
स्वर्गका तानमा।
क्षण र क्षण होशले हिँड्छन्
सच्चाका ज्ञानमा ।
मनका रेखा सपना पनि
थिति र थानमा ।

(७)
उड्नको इच्छा पर्खेर बस्छे
मौकाको इशारा ।
को भयो वीर नजिती आफू
सत्यको सहारा ?

(८)
भयङ्कर झूटा भडकका वीर
संहार गर्छन् नीति र सत्य-
विनाका बेचारा ।
वृष्णिको कुल संहार गर्ने प्रवृत्ति हजारौँ ।

(९)
"दिन हाम्रो छोटो" भनेर उड्छन्
साँझका पखेटा ।
"कञ्चन चोली
खरानी जल्छन"
भन्दछन् बादल
फूलको कीर्ति-रङ्ग नै निभ्छ
कालको लखेटा ।
सुगन्ध बाँकी मनमा बस्छ
अमरको जगेडा ।

(१०)
पहाडका मूर्ति खाल्डामा मिल्छन्
शहरहरू कालले निल्छन्
लहर जसका जलकै चल्छन्
चञ्चल लहर जो पलपल छन्
अदलबंदल नाच्दो छ खालि
बढाई बखेडा।

(११)
आकृतिहरू तरल हुन्छन्
मृत्युको डरले कुसुम रुन्छन्
गरूँलालाई निराशले छुन्छन्
गुंडका माउ उडेर बन्छन्
एकला बचेरा ।

(१२)
क्षणको राजमा
बदली-साजमा
आँशुका माझमा
जीवन हो माटो बनेर बस्छन्
बहिरा अँधेरा ।
 
(१३)
क्षणको टूना क्षणले लिन्छ
प्रकृतिलाई जीवनै रिन छ
कालले सारा सित्तैमा किन्छ
साँझ र सबेर ।

(१४)
कीर्तिका नजर आँशुमा हुन्छन्
मासुका छाती काँढाले रुन्छन्
आफ्नोको नाम शरीरै छैन ।
व्यर्थैको रगेडा ।

(१५)
तैपनि आशा मिथ्यामा राखी
विषय विषको मिठाई चाखी
दु:ख र दैन्य दीन भै डाकी
सत्यको राजमा असत्य खोज्छौँ
चक्कर बखेडा ।

(१६)
यी बुझने जति आकाशमा उडे
फिजाई पखेटा ।
नबुझने बसे काँपेर तीरमा
क्षणिक धनको चिन्ता र पीरमा
बोकेर भारी पापको शिरमा
भएर अबेर ।

(१७)
बझनेलाई फिल्क्यो बिजुली सुन्दर
बोलाए सारा सत्यको सुरले
फूलका अधर माथिका करले
स्वझल्का जस्ता अमर चरले
साँझ र सबेर ।
नित्यको शान ताराले दिए
विशालको रूप पहाडले लिए
बदलीमाथि किरण थिए
फूल फुल्ने घनेरा ।

(१८)
क्षणले बोल्थे कानमा आई
अनन्त झल्का ताराकै ल्याई
स्वर्गको दरबार नित्यको राज
पृथिवीभन्दा भरी छ साज
अमर अमृत आनन्द माझ
दौलत कुवेर।

(१९)
मानिसका जीवन पथिवी मूलका
स्वर्गका ज्योति झरेर फुले
मतलब लिई दिव्यको सुन्दर
छाडेर जान रङ्गीन मन्दिर
हरियो वनको हाँसो र आँशु
प्राणको समीर ।

(२०)
विश्वका सुन्दर सारले बुनी
साँझ र उषाका रङ्ग उनी
किरणबाट इन्द्रेनी चुनी
कोमल-सूती कुसुम-नाभा
जीवनको कपडा।
सत्यको सुन्दर मोहनी झल्काई
पत्तीमा हाँसी बत्तीलाई मिल्काई
फूलको जीवन जाँदो छ उडी
सुगन्ध खालि पछिलाई छोडी
जीवनको जगेडा।

(२१)
सत्यलाई देख्ने साँच्चैको वीर
नकाँप्ने नशा शान्त र धीर
ध्रुवमा अचल ।
पृथ्वीझैँ घुमी किरण-पथमा
सत्यको शानमा कर्तव्य-रथमा
ध्येयमा अटल ।
लोभले पङ्घ लुटपुट छैन
दु:खले जसको बिग्रिन्न चैन
ईश्वरको पदमा राखेर नयन
बुद्धिको विमल ।

(२२)
नीतिको तौल ताराको लिने
स्वर्ग र पृथ्वी पहाडमैं छुने
चूलीमा बसी झल्का है दिने
उत्तमको शिखर ।
सङ्गति-सुन्दर कुसुम दिलका
सत्यमा कडा वज्रमैं दिलका
प्रताप प्रखर ।

(२३)
अणु र अणु रुकून् न बाकून्
रक्तका खोलामा ।
यी वीरको जोश
गुम गरी होश
मुटुमा जागोस्, आँखामा चम्कोस्
सत्यको पलामा ।
धिपधिप गर्दै सूर्यका रश्मि
हिमालमा चम्केर ।
सेतो ली राप
खार पारी पाप
चिडिया पारून् आत्मालाई हाम्रा
यी पख हम्केर ।
प्रोज्ज्वल ज्वाला दन्दनी बाली
अमृतका प्याला
अग्निझै हाली
चम्केका नजर स्वर्णका शिखर
पुग्नलाई पविऊन् ।
अम्लान माला
परीका हातका
लाएर गम्किऊन् ।
सत्यको जोशले,
तातेको होशले
मिथ्याको रोषले ।

(२५)
अणु र अणु पुरुखा जागून्,
ताराको रापले ।
स्वर्गमा आँखा
वीरका शाखा
पहाड लाखाँ
सत्यको यात्रा कदमले गरून्
वीरको रापले ।

(२६)
जीवनको ज्योति
फिलिक्क झल्की
अनन्त पन्था बनेर उडोस् आकाशमा उज्यालो,
भविष्यलाई
ज्योतिले छाई
मानवआत्मा जहाजीलाई
अँध्यारो सागर-गर्जनभित्र
बाटो है राख्नलाई ।

(२७)
देवको तेज बन्देज खोजी
बदली उघारी ।
बिजुली जस्तो झिलिक्क झल्कोस्
जब है आँशु गिराई रुन्छिन्
निशाले अँध्यारी ।
धनको घोष गरेर गर्जी
यो वारि उ पारि ।
जीवनको बादल
वर्षाई वर्षाई
सुगन्धहरू फुलाऊन् यहाँ
पृथिवी सिँगारी ।

(२८)
कहिले सानो पर्णको कुटी
कहिले दरबार ।
- बाट है ब्यूँझी
- बाट है उठी
वीरले लिन्छ सत्यको झलझल
जोशको तरबार ।
शरीरलाई पार्ने विस्मृति साना
सपना जस्ता टाढाको दाना
बादलको टुक्रा बिलाउँदा मानो
मिथ्याको शासन नाघेर उड्ने
पखेटा जडेर ।
आँखाका नानी स्वर्गमा तानी
समुचा जीवनको झिकी पानी
उचाली छाती
कसेर नशा
फिलिक्क झल्काई
ज्वलन्त दिशा
विश्वलाई थाम्ने सत्यले उठ्छ
विशालको घरबार ।

(२९)
हिमालचूली मानिसका यात्रा
ध्रुव छन् विलास ।
कठिनको टूना शिखरमा तान्छ
छिमेकी आकाश ।
गहिराभित्र मोतीका दाना
डुब्नेलाई खुल्छन् रहस्य नाना
उड्नेलाई हुन्छन् स्वर्गका ताना
जित्नेलाई हुन्छन् युगका माना
अम्लान सुवास ।
झर्नेलाई हुन्छन् इन्द्रका धनु
विजय मिठास ।
भुल्नेलाई हुन्छन् स्वर्गका नन्दन
वनका विलास ।
जल्नेलाई हुन्छन् स्वर्गका ज्योति
उदय प्रकाश ।
अर्पनलाई ईश्वर आफैं
बन्दछन् विकास ।
अनन्त छुने वीरलाई हुन्छन्
 अमर सुवास ।
अमृतको प्याला परीले दिन्छन्
युगले प्रकाश।

(३०)
अजेयलाई जित्नेले गर्यो
अनन्त-इशारा ।
जीवनलाई दिनेले भन्यो
युगमा पुकारा ।
मृत्युले थरथर संसारमा दिई
स्वर्गको सहारा।
ईश्वरको सत्य, स्वर्गको सत्य
आत्माको तत्त्व अमर नित्य
समर्थन गरी हामीलाई दियो
असीमको आधार ।

(३१)
मानवजाति
रोएर राति
उदय खोज्दछ ।
आज्ञाले वीर आत्माको ज्योति
उदय-नवीन पाएर फेरि
आकाशमा उड्दछ ।
कविझै चरा गाएर उड्छन्
नवीन युगका सपना लुट्छन्
किरण धारा स्वर्गका छुट्छन्
सुनको बिहान ।
प्रबोध पाई पवन डुल्छन्
नवीन कुसुम सुन्दरका फुल्छन्
आँशुका दाना प्रेमका फुल्छन्
गहिरो मानव सागरबाट मोती मै समान ।
पृथ्वीले पाउँछिन्
एक युगी आयु
सुगन्ध भरी, सौन्दर्य भरी
वीरको प्रदान ।

(३२)
"उठ है" भन्छन् पहाड चूली
"झल्क है" भन्छन् बादल जली
"बिउँझ" भन्छन् ब्यूफेका हवा
"सुगन्ध लिई सबेरै मुली" ।
"खोलन" आँखा पूर्वले भन्छ
उम्लिँदो सुनले बिहान खुली
“असीम" भन्छन् खोला र नाला
कलकल गर्दै अनन्त बोली
सुन्दर सत् हो" भन्दछ फूल
फर्केर आधा बिहान फुली
"उदारता नै असीम गुण हो"
भन्दछ आकाश नीलोमा बोली
ताराले भन्छन्
"अनन्तलाई
अर्पन्छन् हीरा स्वर्गका मोल"
"सत्यको टूना" सुन्दरले भन्छ
"आत्मालाई बोलाई
मधुरमा बोली
"कर्तव्य” भन्छिन् पृथिवी नटी
हरियो सारी लाएर फुली
"आभास" भन्छन् चन्द्रमा फुली,
चकोर भन्छन्
"प्रेममा खुली
सत्यको सिर्जना !"

(३३)
मानवआत्मा सुन्दरको टूना
पाएर सधैं सत्यको गरी
हिँड्दो छ तिर्सना,
 ढुङ्गाको बाटो कठिनमा बोली
अमृतको तरङ्ग ।
सागरको राहा लिएर चली
अगम उमङ्ग ।

(३४)
माटो यो फुस्रो, मिथ्या छ धुस्रो
केही छैन संसारमा ।
जीवन यौटा कङ्काल जस्तो
रहेमा निस्सारमा ।
यो माटोलाई किरण आई
छोएर सारा अणुमा बन्छ
सत्यको सुन्दर कुनकुन गाना
सुगन्ध अपारमा ।

(३५)
किरणले पोसे किरणको होश
 अमृत-सिर्काले ।
शिरामा सूक्ष्म मदिरा दिए
बलेका छिकाले ।
स्वर्गको बास्ना किरणको पथमा
ओर्लेर झरेछ ।
त्यै किरण-पथमा
सत्यको रथमा
चढेर जानु वीरको बाटो
पृथिवी करेर ।
सच्चाले पाए स्वर्गको बाटो
सूर्यको किरणमा ।
अमर पुष्प बनेर फुले
त्यागको मरणमा ।
काँपैन यौटा मुटुको अणु
सत्यको शरणमा ।

(३७)
काँचुलीभित्र अमरको ज्योति
अमरको अनुहार ।
सीमितभित्र असीमको ज्योति
मृत्युमा अमृत सार ।
बोक्रोको भित्र नरिवल गुदी
भित्रको अन्धकार ।
भित्र छ भन्छन् सत्यको ज्योति
झल्किने तारा सार।

(३८)
मिथ्याको टूना छुन्नथ्यो तिनलाई
सत्यको मोहनी ।
बदलीभित्र झल्केर उठ्थ्यो
सुनको सुन बनी ।
बोलाउँथ्यो तिनलाई
असीम सागर,
निर्मलको स्रोतमा मधुरको बोलमा
समर्पण-शील आत्माको जलमा
कलकल पारी
क्षेत्रमा भारी
स्वर्गको झल्का पसेको क्षणमा
मधुर सुन बनी ।
भावका अधर बोलाई मधुर
 अविरल गुन्गुनी ।

(३९)
ती वीर आत्मा
डाकेर रातमा
गहमा आँशु भरेर भरी
बस्दछ भारत उदय खोजी
अनेक युगमा ।
तिनलाई सम्झी अणु र अणु
रुंदो छु म पनि,
संसार, रुंदो छ उ पनि ।

(४०)
सत्यको काँटका कर्तव्य-पथमा
आत्मा ती तारा छन् ।
अनन्त आँटका, बाटुला छाँटका
रामका प्यारा छन् ।
तिनलाई सेती सन्दरको राप
सत्यको काँटमा ।
मिथ्यालाई छोडी उँचाइ लिने
प्रकृत छाँटमा ।
स्वर्गका जुहार बनेर बस्छन्
अनन्त फल्काई ।
सत्यको किरण अँधेरी पथमा
हाँसेर मिल्काई ।

(४२)
तिनका किरण हेरेर रुन्छिन्
अवनि तिमिरमा ।
विश्वका मधुर उचाल्ने कुरा
काँटमा मिली बनेका माला
अमरको शहरमा।

(४३)
प्रेमका ज्योति बस्दछन् चम्की
संसार सारा हेरेर गम्की
प्रकृत गौरवमा ।
झल्काले साना झिलमिल गरी
हृदय गगन चमचम भरी
नजरको पारि
सत्यको भारी
विश्वको काँटको
सुन्दर छाँटको,
"प्रेमको छ है" भनेझै बोल्ने
"मधुर पारावार"।

(४४)
आँशु गोल
ती अनमोल
प्रेमका आत्मा चमचम गर्छन्
सत्यका आढ
पाएर गाढ
नीरमा निराधार ।

(४५)
तिनलाई देखी
फुलुक्क फुल्की
वीरको हृदय ।
उचाली त्यसै निदाउँदो पत्र
खोज्दछ उदय।

(४६)
तिनका मधुर मौनका बोली
आत्माले सुन्दछन् ।
स्वर्गको सिँढी बनाउने सपना
विचेतमा बुन्दछन् ।

(४७)
भित्रको भित्र पवित्र करले
किरणको सूतमा ।
भविष्यलाई जुहारका झल्का
तानमा बुनी पल र पलका
रङ्गले धोई मधुर जलका
अचेतले बुन्दछ ।
तिनका चालमा असीमको बोली
आत्माले सुन्दछ ।
उड्नको इच्छा अगाधमा नीलो
बँदिलो बन्दछ।

(४८)
धन्य है रजपूत, वीरका तारा
मानव मणि, भारतका प्यारा
ज्वलन्त उज्याला ।
जसको छ बग्दो रुधिर धारा
नदी र सब नाला ।
जसमा छ हरा संसारलाई
जीवन र सुन वाला।

(४९)
ती वीर बल्दा
क्या थिए जल्दा
धपक्क धम्केका।
सूर्यका ज्वाला
गगनका माला
ताराकै छरी आकाशभरी अग्निमैं धप्केका ।
जीवनलाई भन्ने क्षणका झिल्का
मिथ्याको ज्वलन सल्केका मिल्का
बिन्दुझैँ यौटा सम्झने खालि आँशुझे टप्केका ।
मिथ्याको छूतले रक्तमा बल्थ्यो
आगोको दन्दनी ।
धर्मका ज्वालालाई हो जीवन .
भनेर खरानी ।
पारेर उड्थे, स्वर्गका चरा
उडेर फुल्थे सिँगारी धरा
बासले बयानी ।

(५०)
तिनको छ कथा
भारतको व्यथा
प्राणको पत्र
आँखाको चल
अमरपनाको ।
सुनेर त्यल्लाई
आँखामा जललाई
भेटी दी पललाई
कलुषविनाको ।
छाडेर काज
सुतू हैं आज
राखेर लाज
अलसपनाको ।
मुटुलाई बाली
कानमा हाली
अमृतको थाली
वीरले बनाको ।
दोगुना जीवन जिएर एकछिन
सहभाव पनाको ।

(५१)
मनुष्य निम्ति मनुष्य आयौँ
मानव सेवामा ।
विश्व छ खालि अडेको प्यारा
प्रेमको टेवामा ।
इनाम खालि मिल्दछ प्यारा
अमृतको मेवामा ।
प्रेमको आत्मा पाउँछ मौका
सुनौला चेवामा ।

(५२)
हामीलाई दिए गाउनु रुनु
मानव दिललाई शब्दले छुनु
अतीत कालमा हाजिर हुनु
यौटा जो वीणा रुनु र कुनु
भाषा छ अधूरा ।
यी झीना तारमा
भक्तका सारमा
प्रेमका पारमा
एकान्तलाई रुनकुन पार्छ आशाको गजूर
हे मेरा हजूर ।
रुन र छुन
ती रुनझुन
आएँ है म ता आँखामा आँशु
भरेर घर-वन ।

(५४)
यौटा नै छाती
झिल्काले जाति
छोएमा राति
त्यै मेरो पाती
आत्माले पिउँछन् कविका दिनदिन
सत्यका जल-धन।
अणु र अणु बजेर उठून्
सुन्नेका सब मन ।

(५५)
हामी हुँ हावा
बास्नाको दावा
लिएर डुल्ने संसार-नामा
कुसुमको यौवन ।

(५६)
सुनिदेऊ भाइ
सुनिदेऊ बहिनी
श्रवणभित्र कविले लिन्छन्,
 इनाम जो सुन ।
त्यसैको आधार
दीनको आत्मा
किन्दछ अरू हृदयमाला
अम्लान सुमन ।

(५७)
सुगन्ध खोज्ने भंवरोलाई,
देऊ कान यो वनमा ।
फुलेर उठ सुगन्ध छाई
अमरको यौवनमा ।