पृथ्वीराज चौहान - विंस सर्ग / लक्ष्मीप्रसाद देवकोटा
(१)
संयोगिता ती दरबारमा आज
अटाली रहेकी ।
सूर्यको लाली देखेर त्यसमा
सङ्ग्रामको दृश्य हेरेर उसमा ।
टलपल भएकी ।
हात्तीका लाम अश्वका मूर्ति-
मा वीर चढेका ।
तरबार भाला लिएर, ऐँडी
दिएर बढेका ।
रुधिरको लाली छरेका दृश्य
साँफको आकाशमा ।
अनेक वीरका प्राणको गति
साँझको बतासमा ।
(२)
तिनलाई लाग्यो सूर्यके मेरा
हृदय प्यारा छन् ।
डुबेमा त्यस्तै सुनको ज्वाला
पारेर संसार साराका काला
जितेमा स्वर्ण उदय जस्तो
उज्याला सारा छन्।
(३)
त्यस बेला आयो उडेर गिद्ध
दरबारको छानामा ।
अशकुन् देखिन् तरक्क रोइन्
दुई आँशु दानामा ।
(४)
खबर ल्याए रिसल्ला कुदी
खबर खेदको ।
आँशुले बिन्ती गर्दछन् सारा
रोएर क्वाँ क्वाँ बगाई धारा
वीरका मुकुट मणिका प्यारो
शिरका छेदको !
(५)
जसलाई अघि समरमा जाँदा
तरबार दिई दु:खको बाधा
हटाई भन्दथिन् ।
"स्वर्गको बाटो वीरको सुन्दर
धर्मको पथ
कीर्तिको रथ
दुश्मनको नाश
भारतको आश
समर थलमा पाल्नुहोस् प्यारा
नलिई आँशु, नलिई खेद
हामी छौँ ईश्वर पुकार्ने सारा
घरमा बस्नु वीरलाई प्यारा
शरमले सुहाउँदैन ।
आत्माको अमर ज्योति छ राम्रो
जय र विजय यौटै छ हाम्रो
पृथ्वीमा यश
स्वर्गका अमर प्यालाको रस
मलाई आँशु धर्मको पथमा
दुखले आउँदैन !
वियोगै छैन !
धर्मको रणमा
मृत्युले हामीलाई कहिले पनि
जित्न नै पाउँदैन ।”
(६)
ती आज खाली
नजर उचाली
बोलावट आयो भनेर भन्छिन
हृदय प्याराको ।
साँझको बादल जलेको हेर
स्वर्गमा गई ढोकाको नेर
इशारा दिई बोलेर हेर
भारतलाई उज्यालो पारी
भो भनी जान अब ता बेर
आँखालाई आँशु बनाई भक्त
हृदय साराको ।
सूर्यझैँ स्वर्ग द्वारमा खुल्छन्
अम्लान पुष्प आकाशमा फुल्छन्
ल्याइदेऊन गई त्यो प्यारो शिर
जगत्का ताराको ।
म त्यससँग जलेर मर्छु
मिथ्यालाई जलाई सत्यलाई वर्छु
बालिदेऊ ठूलो चितामा ज्वाला
स्वयंवर गर्ने धपधप माला
श्रीखण्ड हाली धूपीका काठ
अश्वको कुञ्जी स्वर्गको ताला
म बसे पनि पृथिवीभित्र
प्यारालाई त्यहाँ दु:ख भइजाला
खरानी हाम्रो सुनको झारी-
मा हाली लगाई रत्नका माला
राखिदेऊ बागमा
मन्दिर बनाई
नशादार ढुङ्गा सेतोले सुन्दर
भक्तिले साराको ।
ल्यादेऊ न मलाई सूर्यको शिर
मागेर प्याराको !
(७)
लावा र लस्कर गएर ल्याए
सुनका थालीमा ।
राखेर शिर वीरको वर
फूलका डालीमा ।
(८)
छातीमा राखी शिरलाई प्यारो
ज्वालामा दन्दन ।
अस्ताइन् सन्ध्या सूर्यका साथ
विमान देख्यौँ भन्दथे कोही
फूलहरू करे भन्दथे कोही
विष्णु र लक्ष्मी रहेछन् भन्थे
कोही त आँखा भरेर रोई
डिल्ली भो आँशु !
रोएर घनन !
म भन्नलाई सक्दिन हरे
आँखा यी मेरा आँशुले भरे
तारका व्यास कोही अघि सरी
जो बाँकी भनन ।