भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
प्यासी धाएन कहिल्यै / सुमन पोखरेल
Kavita Kosh से
याद पठायो तिम्रो, मिलन पठाएन कहिल्यै
हाम्रो प्रेमले कुनै माहारा भेट्टाएन कहिल्यै
जवाफ लेखी राखेको थेँ पठाउँला भनी मैले
हुलाकीले तिम्रो चिट्ठी तर ल्याएन कहिल्यै
उस्तै प्रेमासक्त उनी, तर नदीझैँ बग्दै मै पुग्छु
झूठो रहेछ त्यो उखान, प्यासी धाएन कहिल्यै
वर्षौँदेखि तिमीलाई लेखिरहेछ मेरो कलम
चोट त देखायो तिम्रा रूप देखाएन कहिल्यै
मन दुख्यो, विछोड दुख्यो, अनेक दुख्यो प्रेममा
तर प्रेम आफैँले भने दुखाएन कहिल्यै
धड्किरह्यो, धड्किरह्यो, सधैँ धड्किरह्यो
बाँचुन्जेल मुटुले धड्कन बिसाएन कहिल्यै
भाग्न खोज्छ बारम्बार छोडेर मलाई जिन्दगी
धन्य, मलाई मृत्युले पनि पत्याएन कहिल्यै
के सोच्छस् तँ, सुमन ! शायद उल्टो सोच्छस्
खै, त !, तैँले सोच्याझैँ बेला आएन कहिल्यै