भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्रार्थना / भवानी भिक्षु

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

                        गुंज्यो कसको नीरव बोली?
अम्बर-तटमा रंग उडेली खेल्छन् रश्मिहरूले होली
उदधि-उर्मिले राग लिई अलि अध्‌र्य दिंदैछन् भरी-भरी अँजुली ।
रास-रंगमा राग, तान भरी उड्यो कता लहरै विहगावली ?
                        गुंज्यो कसको नीरव बोली?
पुलक भरी मधु-मन्द पवनले हल्लायो गुलाफको उपवन
सुप्त कलीले आँखा खोले गुंजिउठ्यो अलिगनको गुञ्जन ।
कसले हेर्न चियायो कसको गात असित अवगुण्ठन खोली ?
                        गुंज्यो कसको नीरव बोली ?
शीत सँगाली, स्वर्ण लुटायो, दिवस प्रकम्पित, सन्ध्या ल्यायो
आकांक्षा चित्रित गरी थरिथरि नभमा इन्द्रजाल फैलायो ।
कसको इंगितिमा यो तमले खोल्यो रत्नहरूको झोली ?
                        गुंज्यो कसको नीरव बोली ?
ताराहरूसित रजनी रानी सुन्छिन् मिलन-बिछोड कहानी
नीरव नै शून्यले चुहायो थोपा थोपा सुख-दुख-पानी ।
साट्यो कसले मृदुल आशासित झिलमिल सपना निद्रा मोली ?
                        गुंज्यो कसको नीरव बोली?
हिजो, आजको अनुपम जालीले छोप्ने शशि-रविको थाली
आशा, अभिलाषा-प्रसून ली गाँस्ने युगको माला, माली !
चिर-सुख-नूतन गीत गाउने नीरव गायक, गाऊ 'भोलि'
                        (स्वागत तिम्रो नीरव बोली)
                        गुंज्यो कसको नीरव बोली?

...................................
शारदा, ७|१, फाल्गुण १९९८