भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

प्रिय मान्छे / ठाकुर बेलवासे

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आज पनि छैन
मेरो घरको धुरीमा घामको स्पर्श
मेरो घरको आँगनमा
एउटा आदिम दुःख अग्लिरहेछ
अझ्ै पनि देखिएको छैन
मेरो घरको धुरीमाथिको आकाश
म गर्व गर्छु, म घमण्डले उन्मत्त छु
मैले बाँचेको जीवन, तिमीले मात्र होइन
सम्भवतः कसैले पनि बाँच्न सक्दैनन्
तिम्रो धुरी टेकेर, घाम पश्चिम ओर्लिएन भने
तिमी आफैँ भित्र टुक्रा–टुक्रा हुन्छौ
आफैँले आफ्नै हत्या गर्छौ
तिम्रो घरको बाटो भएर
बादल उकालो चढ्न मात्र खोज्यो भने
तिमी भगवानलाई सक्दो सराप्छौ
कि भगवानका अगाडि सेरिन्छौ
उज्यालोले नअघाउने, प्रिय मान्छे
दिन–रात घाम–जूनको पिरलोमा हुन्छौ
हाँसोलाई आँसुमा भिजाएर
उदास जीवनको गीत गाउँछौ
तिमी बाँच्नैका लागि
मनभरि अभिमन्युको चक्र बोकिरहन्छौ
सुखै सुखमा पनि, दुखै दुख देख्छौ

मेरो प्रिय मान्छे
बाँच्नु त एउटा साधारण दृष्टान्त हो
म आँसुलाई हाँसोमा मिसाएर
अँध्यारोमा, उमङ्गको गीत गाउँछु
मलाई अरूको घरको धुरीमा
घाम लुटपुटिएको औधी मन पर्छ
म पसिनामा जीवन खोज्छु
मलाई बादल मेरै घरको आँगनमा
मनलाग्दी नाचेको औधी मनपर्छ
म सङ्घर्षमा जीवन खोज्छु
तिम्रो खुसीका लागि पनि

मेरो प्रिय मान्छे
उज्यालोको सम्पूर्णता, तिमीतिरै जाओस्
तिमी मनदेखि नै उज्यालिनुपर्छ
म त घनघोर जङ्गलको मृगजस्तो
अँध्यारोभित्र उज्यालोका सपना देखिरहन्छु
कुरुपतामाथि सुन्दरताको सङ्गीत बजाइरहन्छु
म पसिनाको सङ्लो मुहान हुँ
सङ्घर्षको सबल उदाहरण हुँ
जीवनको मीठो धून हुँ
त्यसैले म आफँै घाम, जून हुँ
आज पनि छैन
मेरो घरको धुरीमा घामको स्पर्श