प्रेम गर्ने भूलजस्तो / सुमन पोखरेल
मनभित्र एकनासले घोचे पनि शूलजस्तो
तिम्रै याद प्यारो मलाई, प्रेमको कबुलजस्तो
एक्लै हिँड्न गाह्रो रै’छ, बैँसालु मन बोकी
माया पनि काँडासँगै गाँसिएको फूलजस्तो
चर्चा छ हाम्रै भन्छन् आजभोलि बतासभरी
प्रचार गरेछ प्रेमले, चौबाटाको तूलजस्तो
पहिले नै छ्यान्द्रो थियो, फेरि प्रेमको घाउ
देख्दादेख्दै जिन्दगी भो’, च्यातिएको झूलजस्तो
घरिघरी एकएक चोइटो निस्की जान्छ मुटु
तिम्रो प्रेमले उठाएको किस्ता असुलजस्तो
अनगिन्ती साँझ बिते तिमी सम्झिसम्झी
रात उता छट्पटाउँछ व्याकुलजस्तो
नजरभरी फुल्यौ तिमी फक्रियौ मनभरी
मुस्कान तिम्रो कोपिला, अधर मुकुलजस्तो
मनको बह तलाउझैँ भरिन्छ तिम्रो यादले
तिमी भेटी आँखाबाट पोखिन आकुलजस्तो
प्रेमको राग सुनाउँदै आयौ तिमी नजिक
गुन्जियो तिम्रो प्रीत मनमा बिगुलजस्तो
फर्कूँ फर्कूँजस्तो लाग्ने कस्तो स्वागत तिम्रो
चिसो भूईँमा ओच्छ्याएको थोत्रो सुकुलजस्तो
पाइला टेक्न डर लाग्ने भित्र पस्दा त्रास
यो देशको जुनै अड्डा भयो चङ्गुलजस्तो
एउटै चोटले पुगोस् सजाय जीवनभरलाई
भूलै गरे, गर्नु सुमन ! प्रेम गर्ने भूलजस्तो