प्रेम / मदनदेव शर्मा पन्त
प्रिया नजर दूइमा पलक बाँधने यस् बखत्
मलाइ हुनु अन्धकार् यसरि आज सारा जगत् ।
रुकावट हुने वचन् नृपकिशोरिका कण्ठमा
वचन् कठिनले म ता प्रकट गर्छु यस् कालमा ।।१।।
प्रमाणसितको नभै अधिक शास तिन्माम हुँदा
अचेत म त भै गयें गरम श्वासले फूँकिंदा ।
सबै प्रकृति बूझदा विपकि ता सरै बुझियो
परन्तु विप-वेदना मकन हुन ताजुब भयो ।।२।।
०००००००००००
गती छ अति प्रेमको, सकललाइ उल्टो यहाँ
जलाउँछ बढी बढी, चपल पारि आशक्हाँ ।
प्रियानयन बाँधने, तम यहाँ बढी आउने
वियोग उनि पाउने, दुख यहाँ परीआउने ।।१।।
लहर् उठिदिने उता, लहरभित्र पर्ने यता
छिपिन् यदि भने उता, मन हुने यहाँ बेपत्ता ।
अचेत प्रिय मन् भयो, विपत्तमा यता मन् पर्यो
उता विरह भे भने, विरह भारि यस्मा झर्यो ।।२।।
उता विरहश्वासले जब गरम् हुने सुर् लियो
यता शरिर नै गरम् गरि जलाइ खाग् गर्दियो ।
नबोलिकन चुप हुँदा, मन यता पनी चुप् हुने
उता नयनजल् बहे, विरहि भै यता झन् रुने ।।३।।
किशोर वयमा मदन् जब जलेर दन्दन् भयो
यता पनि असह्य भै, मन जलेर राख् भैगयो ।
जगनबिच छ प्रेमको, गति अपूर्व उल्टो अती
उता अलिक क्यै भये मन हुने बराबर् खती ।।४।।
शरम् लियि नरम् नरम् गरम आँशु छाडिन् जसै
परम् विपदमा परें, धरम छाडि मन्लेड तसै ।
भरम परि भरङ्ग भो, मन उदेक मानी अती
करम् किन यसो गरिस्, नलियि प्रेम मेरो रती ।।५।।
०००००००
प्रीति जो अघिको थियो उ त सबै ऐले त बिर्सिदियौ
कस्तो यो विमजा भयो अब भने तिम्ले कुचाला लियौ ।
शोकले पीडित छू म ता तर प्रिये ! फिक्री छ तिम्रो फगत्
तीमीलाइ नदेखदा म त प्रिये ! सब् शून्य देख्छू जगत् ।।१।।
रम्भा, उर्वशि, मेनका अपसरा, सबकी त मालिक्सरी
तिम्रो दर्शन पर्शनादि दिन्-दिन् गर्थ्या म भुल्थ्याँ हरी ।
ऐले दर्शन दूर् हुँदा सुन प्रिये ! नाम् मात्र जप्छू फगत्
तीमीलाइ नदेखदा म त प्रिये ! सब् शून्य देख्छू जगत् ।।२।।
चार् दिन भो नहुँदा पियारि तिमिले सब् प्रेम बिर्सिदियौ
आफ्नू मन् रत्तिभर् नदीइ अरुको मनलाइ खैंची लियौ ।
मेरो मन् छ खराब् नराख तिमिले सट्टा म दिन्छू बरु
सट्टा यौवन राख प्यारि ! तिमिले धेरै कुरा के गरुँ ।।३।।
मो प्यारि ! तिमिदेखि दूर् हुन गयें मो ता नजीक मान्दछू
छाड्ने मन्सुब गर्दछयौ तिमि प्रिये ! चालाकि सब् जान्दछू ।
पाताल्मा यदि गैंगयौ पनि भने तान्नेछु चुल्ठीमहाँ
आकाश्मा यदि जान मन्सुव गरे जानेछु साथमै तहाँ ।।४।।
हे ज्यामी ! अपमान व्यर्थ मकनै तिम्ले कती गर्दछयौ
तिम्रै साथमहाँ बिताउँछु जनम् उस्सै तिमी छाड्दछ्यौ ।
मन्मा खेद् रतिभर् नहोस् सुन प्रिये ! आयू छ चार् दीनको
आफ्नै जानि म भन्छु प्यारि ! अहिले रस् बस् छ एक् छीनको ।।५।।
प्यारी ! जान्छु म दूरदेश अहिले फिर्नेछु झट्पट् गरी
अपसोस् ! कत्ति नमानि प्यारि ! रहनू मनलाइ धीरा धरी ।
शोक् ज्यादा तिमिले गरे मकन ता हूनेछ दुख् धेर बस्
ज्यादा शोक गरेर व्यर्थ मनमा तक्लिफ् लिने काम् नहोस् ।।६।।
प्यारी ! पत्र मिल्यो मलाइ अहिले रसबस् खसम् पद्विको
ज्यू ज्यानले म त मान्दछू तर तहाँ शङ्का रह्यो धर्मको ।
यौटा वात म भन्दछु सुन तिमी एकाग्र भै मनमहाँ
रसवस् प्रीति हुँदा हुनेछ सब थोक् केको छ शङ्का तहाँ ।।७।।
झ्यालमाथी अति प्रेम गरेर दिन-दिन् जो अङ्कमाल् गर्दथ्यौ
मो दुखीकन ता कटाक्ष शरले ताकेर चट् लुक्तथ्यौ ।
यस्तो यो अनमोल चाल तिमिले गर्नू ननीको प्रिये !
झ्यालमा प्रेम जति गर्दछयौ तति प्रिये ! गर्नू त बुढी भये ।।८।।
झ्याल् छाडीकन एक दिन् तिमि प्रिये ! बुर्जाउपर् पो थियौ
मो दुःखीकन देखि गल्लिबिचमा डाक्ने इशारा दियौ ।
सूनें यो खुशिको खबर् र झटपट् फीरेर देखें गजब्
चाँपको फूल झयीं वसन्ति कपडा पैर्ही बसेकी अजब् ।।९।।
पेच् गुप्ती तिमिले गर्यौप नि भ्रमरो चाप फूलमाहाँ कबै
बस्नेछैन भनी बसन्ति कपडा पैर्हीन बस्यो जो अबै ।
यस्तो पेच् मउपर् गर्यौ फिरि भने बुझ्यौ अवश्यै यहाँ
टूपी काटि विभूति धारि असली जोगी तुरुन्तै भयाँ ।।१०।।
तस्मात् जोगि बनाउनू र खुशि भै भोगी बनाउँनमा
जो तजविज् मनमा ठहर्छ उ हिसाब् गनूँ तुरुन्तै ममा ।
माफ् माग्छू उचनीचका अरु कही गल्ती भये लेख्नको
मनमा क्लेश् रत्तिभर् नराखि तिमिले उत्तर् दिये पत्रको ।।११।।
००००००००००००
स्वस्ति श्री शुभवाक्य पयारि ! तिमिमा आशिस् छ मेरो सदा
चाहन्छू म तहाँ कुशल म पनि ता आनन्दमा छू यहाँ ।
ताहाँ देहमहाँ कुशल् यदि भये सन्तोष् मलाई सधैं
हूने जानि नगर्नु शोक तिमीले फिक्री नमान्नू कवै ।।१।।
सै गज्को फरिया कटीबिच धरी रेश्मी पछयौरा पनी
दूवै स्तन् अति पुष्ट पारि कसने चोली छ खासा अनी ।
कान्मात ढुंग्रि हिरा गलाबिचमहाँ सिक्री छ वेश् सूनको
यस्ती छाडि विदेश जानुपरने यै हो अभाग् कर्मको ।।२।।
लेख्नेमाफिक हाल केहि नहुँदा लेखें यि गन्थन कुरा
झर्को कत्ति नमानि प्यारि ! तिमिले बाँचे हरफ् सब् पुरा ।
तिम्रै हुँ म त प्यारि ! आज तिमिले माया नमारे रती
भो निष्ठुर झयिं भै गये तर तिमी निष्ठूर नहूनू रती ।।३।।
साह्रै निष्ठुर झैं भयी तिमिकनै छाडेर यहाँ
यस्मा दिक् रत्तिभर् नहुनु तिमिले कारण् बुझी मन्महाँ ।
उच् नीच् पत्रविपे जती छ उ सबै हे प्यारि ! माफ् माग्दछू
यस्को उत्तर जल्दि अल्छि नगरी मिल्ला भनी ठान्दछु ।।४।।
प्यारी ! दिन्-दिनको छ आशिप तहाँ आनन्द मो छू यहाँ
कल्याण् सूख ह्वोस् सदा तिमिकनै आराम् शरीरैमहाँ ।
बस्छू जङ्गलमा शिलाकि तकिया झार्पातका विस्तरा
जप्छू नाम पियारिको दिनप्रति खान्छू म फलफूल् जरा ।।५।
कुन दीशातिर भाग्न मन्सुव गरी छाड्छयौ तिमी यस् घडी
माया मोह छुटाइ चार दिनमा गछर्यौ उसै मनपरी ।
प्यारी ! माफ सब माग्छु फेर् अरु कँही उचनीच् भये लेख्नको
रिस राग् कत्ति नली खुशी भइ प्रिये ! उत्तर् दिये पत्रको ।।६।।
(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)