प्रोषित भर्तृकाको विरह / कृष्णचन्द्र शर्मा अर्याल
सुनन हे सखि ई मनका कुरा
गम गरीकन दुःख सहे पुरा ।
खपिसकें भरसक यतिका दिन
अति भयो अब खप्न म सक्तिन ।।१।।
दिनदिनै विरहानल बल्नगै
अलि अलि गरि यो वपु जल्नगै ।
अब त बाँकि छ खाग हुनाकन
अब कसो गरि खप्नु त लौ भन ? ।।२।।
निठुर झै भइ बस्नुभयो वहाँ
झलझली म त संझदि छू यहाँ ।
नजर तानिलिंदा पनि थाकियो
कसरि खप्नु त अज वियोग यो ।।३।।
अब त आइगयो ऋतु ग्रीष्म यो
नगरमा-गरमा गरमी भयो ।
दि (लि) न त-यार भये अब-ला-जन
पवन सेवनमा वनमा मन ।।४।।
पतिसँगै सवका सब कालमा
भवनमा वनमा सब ठाममा ।
म त अभागिनी हा ! ठगिये यसै
सहन शक्ति नभै कसै ।।५।।
शरिरभर सब चन्दन घस्तछन्
सुरतमा रत मानिस मस्त छन् ।
फिरनुहुन्छ कि आज भनी पति ।
सटकमा टक लाइरहे अति ।।६।।
बितिशक्यो अब ग्रीषम पनी बसै
कम भयो अनि आश पनी उसै ।
सँगिनीका सँग देखिलिदा पति
खपिनशक्नु मलाइ भयो अति ।।७।।
वितिशके ऋतु पाँच यसै गरी
नफिरने हृदयेश्वर क्यै गरी ।
शरिरम बसि जेठ र साउन
रत इ छन झरि ताप गराउन ।।८।।
घुमि-फिरीकन आइ वसन्त यो
मकन फेरि गराउँछ दिक्क यो ।
कुहू कुहू गरि कोइलि बोल्दछन
युवकको मन दीप्त गराउँछन् ।।९।।
विरहिको मन खिन्न गराउँछन्
मदन मानिनि-मान गिराउँछन् ।
अब त मानिनि मानि निको पति
सफरमा फरमाउँदछन् कति ।।१०।।
पहिरि भूषण वस्त्र शरीरमा
पहिरि सिन्दूर लाल ललाटमा ।
पहिरि गाजल सुन्दर नेत्रमा
गरिलिने ति बिहार विहारमा ।।११।।
फूल फूले फूलबारिभरी सब !
अलिअली अलि झुल्न गये अब
जब हुने मन चन्चल योगिको
कसरि रोकिनु चित्त वियोगिको ! ।।१२।।
पहिरि हार मणी रमणीहरु
रमण साथ यहाँ रमछन् अरु ।
सहनुसम्म सहें कतिसम्म रुँ
जहर खाइ मरुँ कि डुबी मरुँ ।।१३।।
विरह-अग्नि बढेर डढ्यो मन
शमन हुन्छ कहाँ सखि ! यो मन ।
अरु कुरा अब भन्न त शक्तिन
खसमको सम कोहि म देख्तिन ।।१४।।
यसरि दुख पुकार गरीकन
विपतिमा पतिमा दिइ यो मन ।
घडि पला सब मास सरी सरी
तन सुकाउँदछन् विरही परी ।।१५।।
(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)