भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

फाँसीको सजाय सुनेपछि / रोशन परियार

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पर्समा रहेको आधा प्रेम पत्र पूरा गर्यो
जो विधवा प्रेमिकासम्म पुर्याउनु थियो

चश्माको सिसाबाट देखिने
मखमली सपना च्यात्यो
जो दैलामा उभिएर बाआमाको आँखामा
हरेक वर्ष फुलिरहन्थ्यो

अटोग्राफमा
वर्षौं अगाडि लेखेको आफ्नै नाम झुटो थियो भन्ने पूरानो याद ताजा गर्यो
ता कि साथीले मरेको खबर सुन्न नपरोस्

भित्तामा टाँगिएको
सादा फोटोबाट रङ्गिन हाँसो मेटायो
जसले कुनै ठेगानासम्म पुग्न नपरोस्

जूनको अँगालोमा बाँधिएर
जिन्दगीको नदीमा बग्दैबग्दै घाटसम्म पुग्नु थियो
ता कि बिहानको घामलाई जुठो नलागोस्

जल्लादको दायाँतिर लर्किएको डोरी नजिक पुग्दा समयलाई आफूभित्र तानेर भन्नु थियो
जिब्रो थुतिएको हो , आवाज छोडेर जाँदैछु
कान फुटाइएको हो , श्रवणशक्ति छोडेर जाँदैछु
आँखा घोचिएको हो , दृश्य यतै कतै देखिने छ
गोडा काटिएको हो , यात्रा यतै कतै हिँड्ने छ
कलम भाँचिएको हो , राँको हात हातैमा हुनेछ
विचार झुण्डाइएको हो , क्रान्ति फेरि उम्रिएको हुनेछ

र यो पनि भन्नु थियो
कृपया
मेरो मृत्युपत्रको 'औँठाछाप' चौतारीमा टाँसिदिनु
अक्सर
मेरी आमाको थकान बोक्ने बिसौनी हो त्यो ।