भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

फालेलुङ् र काबेली बजार / सन्तोष थेबे

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

यो फालेलुङ हो
यसले बाह्रै महिना चीसो बोकेर
कतै बेवास्ताको चीसो
कतै अपमानको चीसो
कतै मुगलानको चीसो
कतै मात्र हिउँको चीसो बोकेर
पूर्वमा अलिकति तातो नेपाल कोरेको छ
यो फालेलुङ हो

यो काबेलीको बगर हो
माथ्लोपट्टि ‘सिनाम’ छ
साँघुको लठ्ठामा समाएर उकालो हेर्दा
सिनामको आँखामा मधुरो सपना छ
यो काबेलीको बगर हो
यो काबेलीको बजार हो
यहाँ ‘बजार कि हजार’ भन्ने गीत प्रिय लाग्छ
गीतमा काबेली सुसाउँछ
गीतमा सिनाम सुसाउँछ
गीतमा मालिङ्गो घारी सुसाउँछ
गीतमा फालेलुङ सुसाउँछ
यो मान्छेहरुको भीड हो
यो मान्छेहरुको हाटबजार हो
यहाँ थरिथरिका मान्छेहरु भेला हुन्छन्
कोही नुन तेल किनेर जान्छन्
कोही नुन मात्र किनेर जान्छन्
कोही रमिता हेरेर मात्र जान्छन्
यहाँ तन्नेरी आँखाहरु
यहाँ तरुनी बैँसहरु
कतै हलोले थाकेर
कतै कोदालोले थाकेर
अलिकति थकाइ मेट्न
अलिकति दुःखाइ मेट्न
एक बटुको रक्सी सगुन छर्केर
एक डबका जाँड पसिना पुछेर
अलिकति बगरदेखि एकान्तमा
धान नाचे भने
पालाम गाउँदै प्रीति लाए भने
यहाँ एकथरि मान्छेहरु खुकुरी नचाउँदै उफ्रन्छन्
यहाँ अर्काथरि मान्छेहरु थपडी बजाएर नाँच्छन्

यो मान्छेहरुको भीड हो
यो मान्छेहरुको हाटबजार हो
यहाँ एकथरि मान्छेहरु
भोल्गामा बाढी आएको सुनेर
काबेली साँघु काट्छन्
यहाँ एकथरि मान्छेहरु
न्युयोर्कमा पहिरो आएको सुनेर
खसी बोका काट्छन्
अचम्म मानेर हेर्नेहरु धेरै छन्
किनभने तिनीहरु हलोकोदालो मात्र जान्दछन्

यो बजार हो
यो मान्छेहरुको भीड हो
यहाँ कोही मात्न आउँछन्
यहाँ कोही बात्न आउँछन्
कोही निहुँ खोज्छन्
कोही निहुँ लुकाउँछन्
यो बजार हो
घर आँगनदेखि टाढा
घर आँगनभन्दा फरक
यो काबेलीको बगर हो
यो काबेलीको बजार हो

अहिले
फालेलुङ् चीसो हिउँले किचिएको छ
फालेलुङ ड्याम्म बादलले ढाकिएको छ
फालेलुङमा केही देखिँदैन
काबेलीको बगरमा कोही देखिँदैन
शायद मान्छेहरु हाटबजार सकेर घर फर्किरहेका छन् ।