भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

फाल्गुन सात / कञ्चन पुडासैनी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

त्यस दिन कारागार खुलेथ्यो, त्यस दिन कैदी बाहिर आए
नेपाल अझै ठुलो लाग्यो, आकाश अझै अग्लो पाए ।
दीनहरूले यै दिन ठाने- 'अब है हाम्रा सब दु:ख गए’,
उल्लासहरू हे नेपाली । हामीलाई उपलब्ध भए ।

यो दिन मनको मातृस्थल हो, यो दिन यौटा सुनको खानी,
मानिस धायो पाउन यसमा मनसित मिल्दो हावा-पानी ।
यस दिनको युग बाँड्न सकेमा, बाँड्न सकेमा यस दिनलाई
सबको साझा धन बाँडिन्थ्यो, प्रग्थ्यो सवका लागि भलाइ ।
 
तैपनि आफ्नो घरका मा सबले आफ्ना घरमा पाए,
दुइ गीत यसो गाई हेर्दा दु:खै आफ्नो स्वरमा पाए ।
अहिले पनि यो पीडा बाँकी- कसरी लाग्लान् भोलि किनारा
यी दु:खहरू, यी पीरहरू, यी घर-घरका मर्का सारा !
 
ज्यू थाकेको, मन रोएको जनता मेरो स्मृतिमा जाग्छ,
आज तिनैको मुख हेर्ने मन, आज तिनैको माया लाग्छ ।
आँसु बगेको दाग छ होला आजै कतिका गालामाथि,
कतिका आँखा रोई-रोई जाग्राम बसे आजै राती ।

देख्छु म तिनको त्यो हाल जसै , मुटुमा आफै पर्दछ गाँठो,
तिनको स्मृतिमा चुपचाप रुंदै टोल्हाएको हुन्छ म लाटो ।
आज तिनैको मुख हेर्ने मन, आज तिनैको विरह-विषाद,
आज त मनले खोज्दछ खालि नित आइरहोस् तिनकै याद ।
 
आज त सबले अनुमति देऊ- हर मानिस होस महिमा-पात्र
यो दिन न्याय र समताको हो, दिव्य नहोऊं हामी मात्र
कति द:ख अझै मानिसलाई ! किन दु:खैमा यिनले मर्नु
कति दिन हाम्रो न्याय अधूरो ! अब सम्पूर्णै न्याय छ गर्नु ।