फिलाडेल्फियामा एक बृद्धले जे भने / सुमतीन्द्र नाडिग / सुमन पोखरेल
हामी छोराछोरीलाई माया गर्छौँ,
हामीलाई भेट्न आउन पनि सक्छन्, नआउन पनि
हाम्रा नातिनातिना ।
वर्ष वा दुई वर्षमा एकपल्ट
तिनीहरू फोनमा कुरा गर्छन् हामीसँग
र कार्ड पठाउँछन् हामीलाई
ग्रेन्डफादर्स डे र ग्रेन्डमदर्स डेमा,
या
क्रिसमसअघि हामीलाई ग्रीट गर्छन् ।
यो बृद्धहरूका लागि बनेको देश हैन
जहाँ हामी ज्यूँदा सम्झनाहरू समेत हौनौँ
हामी ज्यूँदा लाश हौँ, रोचक विषय हौँ
केवल बृद्धावस्था चिकित्सा पद्धति वा
बृद्धावस्थाको समाजशास्त्रीय अध्ययनका लागि ।
हामीले यस्ता स्वर्णिम देशहरूको सपना देख्याथ्यौँ
जहाँ बूढो हुनुलाई अपराध मानिने थिएन
एकअर्काका पाखुरामा रमाइरहेका युवायुवतीहरू
साहसिक कर्म र आनन्दमा प्रफुल्लित हुन पाउनेछन्;
र कोक्रा र कोठाको पिँजडामा थुनिने छैनन्,
तोते बालकहरू
न त हेरालूको दुर्व्यवहारमा पर्नेछन्,
आफ्ना आँखाको चमकिलो निर्दोषपनसगै,
तिनीहरूको संसार दुषित हुने छैन
मृत्युको क्षयको जानकारी लिँदै
आफ्ना बाजेबजैका वरिपरि खेल्नेछन् ।
आफ्ना खुशीका लागि
लाशजसरी टाढा राख्ने छैनन् तिनीहरू
आफ्ना बाजेबजैलाई
बरू, तिनलाई छुने छन्, म्वाई खाने छन्,
र सोध्ने छन् रमाइला प्रश्नहरू,
कथा सुनाउनु भनेर दिक्क पार्नेछन् तिनलाई
र बिर्साइदिनेछन् आफ्नो एक्लोपन बृद्धहरूलाई ।
हामी मधुरता हैन
खालीपन र रुग्णता अनुभूत गर्छौँ।
हामी अवसादग्रस्त अनुहारहरू हेरेर आफैँ अवसादग्रस्त हुन्छौँ।
ह्वीलचियरदेखि दिक्क लागिसकेको छ हामीलाई
र एकअर्काका थोत्रे ठट्टा सुन्दासुन्दा पनि वाक्क भइरकेका छौँ।
माया पाउनका लागि छटपटाइरहेका,
हामी अपहेलना पाएर भरिएका छौँ,
त्यसभन्दाबाहेक हामीमा डर मात्र बाँकी छ ।
यो नित्य किशोर मुलुकमा
हामीलाई थाह छ, कसैले रोक्न सक्दैन क्षयलाई,
थाह छ, शक्ति हाराउँदै जाने क्रमलाई रोक्न सक्दैन कसैले
थाह छ, खुशीलाई पछ्याउनु भनेको एउटा कल्पित भ्रम मात्र हो।
हामीलाई यो पनि थाह छ,
घटाउन सकिन्छ हाम्रो एकाकीपनलाई
यदी हाम्रा वरिपरि यदी जीवन हुनु हो भने,
र ससाना केटाकेटीको हाँसो सुन्न पाउनु हो भने ।