भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

फुटकर / शम्भुप्रसाद ढुङ्गेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


अनाथ पारीकन नाथ ! यो घडी
  विदा लिनूहुन्छ हरे ! कसो गरी ।
सँगै बरु लानुहवोस् सँगै रहूँ
परे जती दुःख दुवै मिली सहूँ ।।१।।

हजूरका साथ रहे हुँदामहाँ
थियेन हेर्ने बलतक कसैमहाँ ।
हजुरदेखी रहुँला फरक् जसै
मलाइ छाड्दैन यहाँ कुनै कसै ।।२।।

नजानुहोस् नाथ ! तँ बस् यही भनी
म छैन बच्ने पछिक् कसै पनी ।
फुलीरहेको फुललाई त्याग् गरो
नहोस सपारी हुनगै निठुरसरी ।।३।।

भनूँ भने दर्द म भन्न शक्तिन
अचानु सबको अब बन्न शक्तिन ।
हजूरको जानमहाँ भये मन
मलाइ जानोस् टुकुरा गरीकन ।।४।।

००००

मुसुक्क हाँसीकन नेत्र तर्की
सुटुक्क मेरो लियि चित्त फर्की ।
फुरुक्क पछर्यौ तिमी विध्न प्यारी
मलाई वाधा हुनजान्छ भारी ।।१।।

शरद्शशीतुल्य प्रिये ! मुहारले
चमक् दिने विद्युत झैं जुहारले ।
लियौ गराई वशमा सबै मन
बसूँ कहाँ वेमनको भईकन ।।२।।

न छिप्छ बास् कस्तुरिको कसै गरोस्
न लुक्छ आगो कहि नै लगी धरोस् ।
प्रिये ! छ यस्तै बुझ प्रेमको गति
छिपाउँदा हुन्छ प्रकाश त्यै अति ।।३।।

००००

म तिम्रो हरे ! आज दुश्मन भयेंछु
अधम् नीच छोटो पनी भै रहेंछु ।
यसले यहाँ मुख तिमीले लुकायौ
अघीदेखि खाली मलाई ढुकायौ ।।१।।

००००

तिमी असल प्रेमकी चिज भयेर ऐले प्रिये ।
मलाइ यसरी यहाँ विपत प्रेमले नै दिये ।
कसो भनुँ कसो गरुँ नभनुँ के नबोलूँ यहाँ
अभागि मसरी अरु अब हुनेछ को लोकमहाँ ।।१।।

तिमीसित छ प्रेमको कमल पुष्प खुस्बू दिने
भमर् घुमि घुमी तहाँ सरसलाई हर्दम लिने ।
गजब् छ तर त्यो कली मसँग नक्कली भै अती
दिदैंन किन हो हरे ! रस भरेर प्रीती रती ।।२।।

भनूँ कसरि निर्दयी नलिनु याद मेरो भनी
डुलें सरस खोज् गरी हरबखत् म प्रेमी बनी ।
तिमी हृदयभित्र प्रेम् लिइ लुकाइ राख्ने हरे
म खोलि गरि प्रेमको यसरि हा ! अनाहक् मरें ।।३।।

दिनू छ भन सुन्दरी ! अब अमोलको प्रेम कहाँ
म लायक ह्वैन की लिन अमोल प्रेमको यहाँ ।
चटक्क चुँडि प्रेम यो अब नमार टाढा गरी
लिनेछु पछितक् पनी झलक त्यै म हे सुन्दरी ! ।।४।।

००००

सँगिनि किन भयौ अती मलीन
तिमिकन कुन् विपत् नवीन ।
अधर दुइमहाँ छ चोटचाट
किन सखि ! बिग्रनगो समस्त छाँट ।।१।।

दुइतिर पसिना चुहीरहेछन् ।
नयन समेत गुराँस झैं भयेछन् ।
किन सखि ! तिमि बस्तछयौ नबोली
हृदय लियो कुन पापि आइ खोली ।।२।।

चलि चलि गहना खसे समान
अलि अलि गो निहुरेर भू(कमान ।
किन सखि ! बबुरी भयौ यसोरी
भन हँसिलो मुख गो कहाँ कसोरी ? ।।३।।

निशि बसि तिमिले कहाँ गवायौं
सुख सब छाडि लियेर दुःख आयौ ।
भन भन सुकुमारि ! केहि हाल
म त ननिको अति बुझ्छु देखि चाल ।।४।।

००००

प्रिये ! यता हेरन हेर- छू खडा
नपार आफ्नू मन प्रेमको कडा ।
म दिन्छु लेऊ जिउ नै बकस् यहाँ
मनाउ मेरो जय केहि मनमहाँ ।।१।।

थरी थरीका गहना म ल्याउँला ।
वरीपरी राखी सबै चढाउँला ।
घरी घरी ओठ दुवै रँगाउँला ।
यती भये ‘प्रेम’ यसै मनाउँला ।।२।।

००००

तिमीले रिसाएर हेरीदिंदामा ।
मुहार् चन्द्र झैं आज फेरीदिंदामा ।
जुलुम् जो हुने हो ममा हेर सब् भो
गजब् भो गजब् भो गजब् भो गजब् भो ।।१।।

गजब् भो अहो ! औंशिमा चन्द्र झल्के
अनेक् आइ चातक्हरु आज पल्के ।
वियोगी जती कामले भित्र सल्के
सुधा चाँदनीले छरी खूब टल्के ।।२।।

गजब् भो तिमी फूल फैलाउदामा
कलीले फुली बास फैलाउँदामा ।
कहाँ गो हरे ! त्यो मजेदार छाँट
यहाँ गर्छ को शोख सब् गर्न आँट ।।३।।

००००००

तिमी मेरि तिम्रो म भन्थें अगाडी
दियौ भारि धोका पछाडी पछाडी ।
कहाँको लियौ चाल यस्तो समाई
कडा भन् ग¥यौ आज पत्थर् जमाई ।।१।।

म एक् रात छाडदीनथें घर् कदापि
गजब् भो म पर्देश आयें तथापि ।
रसीली प्रिया गर्दिहुन् के विचार ?
हरे ! सम्झि त्यो आँशुको लाग्छ धार ।।२।।

०००००००००

जुटेको कलेजा छुटाई बलैले
शरद्चन्द्र झैं मुख् हटाई करैले ।
अलिक् दिन् वियोग्को गरम् स्वास् बहाई
बिदा हुन्छु देऊ प्रिये ! मुख् हँसाई ।।१।।

फुलेको छ भर्खर् कलो छाइ वास
भमर्लाइ सर् ख्वाउने गर्छ आश ।
कठिन्ले गरी त्यो मजा सब् छुटाई
विदा हुन्छु देऊ प्रिये मुख् हँसाई ।।२।।

चखेवीमहाँ भै चखेवासमान
म आश् गर्दछु भेट्नलाई विहान !
लियी प्रेम आफै कलेजा लगाई
विदा हुन्छु देऊ प्रिये ! मुख् हँसाई ।।४।।

नमाने तिमी चित्तमा कत्ति फिक्री
छ मेरा उपर् प्रेमको भारि सिक्री ।
म एक्लै बसूँला कती तड्फडाई
विदा हुन्छु देऊ प्रिये ! मुख् हँसाई ।।५।।

अलक्का झलक्मा छ यो मन् भुलेको
सदा खान रस् भै दिवाना डुलेको ।
कहाँ बस्न सक्छू म यो सब् भुलाई
विदा हुन्छु देऊ ! प्रिये मुख् हँसाई ।।६।।

तिमी मन तिमी धन् तिमी ज्यान मेरी
बसेको छु खाली तिमीलाई हेरी ।
तिमीदेखि क्यै तैन मेरो मलाई
विदा हुन्छु देऊ प्रिये ! मुख् हँसाई ।।७।।

वियोग् हुन्छ संयोगलाई लियेको
अधर्को छ मैले सुधा-रस् पियेको ।
गला लागि ज्यू प्रेमले सुम्सुम्याई
विदा हुन्छु देऊ प्रिये ! मुख् हँसाई ।।८।।

म तिम्रो लियी चित्र मन्भित्र राख्छू
वियोगको वखत्मा सुधालाय चाख्छु ।
नठाने तिमी निर्दयी झैं मलाई
विदा हुन्छु देऊ प्रिये ! मुख् हंसाई ।।९।।


(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)