फुटेको चुरो / दैवज्ञराज न्यौपाने
१.
सग्लो छँदा तिम्रो मणिवन्धको आभूषण
नारी जातिको खुला चिह्न,
बारम्बार सौन्दर्यको सम्मानमा
कोमल हातका स्पर्शले मुसारिएको,
धेरै समयपछि जीवनको अस्तित्व मेटी फुटेको,
अनि तिमीले छाडेपछि मैले भेटेको,
मेरो चुम्बन र मेरो स्नेहको माझमा
सम्झनाको बाटो देखाइरहने
मेरो साथी !
यहाँ के छ ? एक फुटेको चुरो।
२.
यही फुटेको चुरामा तिम्रो तस्वीर छ,
बोली र हिँडाइको साकार रूप छ,
पूर्व-स्मृतिको अमर कहानी छ,
माया र ममताको नाम छ,
यसमै तिम्रा र मेरा
सत्कार र प्रेमका बोली,
दुःख र सुखका प्रतिज्ञा,
ठट्टा र वास्तविकताका विश्वास,
अक्षरश: एकएक गरी भरिएको अभिलेख छ,
यहाँ एक फुटेको चुरो छ।
३.
तिमीले छाडेको यस चुराको टुक्रामा,
मेरो विछोडमा कताकता छुटेको प्रेमको टुक्रा छ,
पछिसम्म सम्झने स्मृतिको बाटो छ,
अज्ञानताको अन्धकारमा कहीं भुलेँ भने
खोजी गर्ने नातो छ,
साच्चि यहाँ के छ?
त्यही फुट्ने चुराको टुक्रा छ।
४.
स्वरूप यसको सानो छ तापनि
सम्झिएमा यो सानु होइन,
मेरो साथीको चिनु यो
मेरै दिलको विशाल तारा हो,
मेरो साथको टुक्रा
उही फुट्ने चुरा हो।