भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

फूल-परी / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बगैंचामा मेरा रङबिरङका छन् कति परी
कलीला क्या राम्रा मुसुमुसु हुने बोल्दछ सरि
सिंगारेका छाँटी मगमग छिटो अत्तर मिही
लगाएका सारी नरम रँगिला रेशमसरि ।

हरीया खोपीमा टहल छ हवाको हरहर
सधैं नाच्ने झुल्ने चलमल हुने नै छ रहर
लगाई हीराको टप झलल हाँसी मुसुमुसु
इशाराले डाकी मसँग सब गर्छन् खुसुखुसु ।

चरा पंखी राम्रा नरम रङ पत्ती फरहर
उडूँ झैं बस्छन् ती वरपर हररर
कलीला यस्ताछन् कि त छुन पनी लाग्दछ डर
फुका छाती बोल्छन् मसँग परबाटै सब तर ।

"कहाँदेखिन् आयौ भनन सुकुमारी वनपरी ?"
भनी सोद्धा भन्छन् मुसुमुसुबनी लज्जितसरि
"जहाँ झुल्छन् रंगी नरम कलिला बादलभरी
जहाँ फुल्छन् ऊँचा धनु रंग मिसेका बहु थरी ।"

"छ कस्तो त्यो रंगी चहकहरूले झल्ल दुनियाँ ?
पखेटा पाइन्छन् रँगबिरँगका सुन्दर त्यहाँ"
"कहाँ जन्म्यौ नानी ?" प्रभु हृदयका बालसपना
बनी जन्म्यौं हामी झलमल सबेरै उदयमा ।

"नबोल्ने पंछी भै रँगबिरँगले नाच्नु फरर ?"
कुरा गर्दै मीठा हृदयसँग वर्ली तलतिर
भनी आज्ञा मिल्दा हृदय सब खोली फररर
सधैं हाँस्छौं लाईकन प्रभु टुना यो जगभर ।

हजारौं भाषाका तहतह बनेको हृदय छ
जगत्को मायाले झलल गहनातुल्य जल छ
बनाए माटैले तर हृदय क्या स्वर्ग-रस छ
पसी साना राम्रा मगमग मिहीं भाव खुप छ ।

उज्यालो पारौं यो जगत, रँग राम्रा कति थपी
बहाई बास्ना नै हरहर हवामा सुख जपी
खुशाई साराको दिल, दुख हटाई दिनभर
टुना भन्छौं हामी प्रभुतिर खिंची बाल नजर ।

दिई आफ्नो बास्ना जगतकन डाकेर भँवर
बनी दानी दिन्छौं हृदय-मह मीठो बुझ कुरा
भए स्वप्ना जस्तो जिउनु वन राम्रा छिनभर
कलीलो छाती होस् मगमगम जगत् पी मह तर ।

दिए हामीलाई नरम गहना, रंग रसिला
"बनाओ ए भन्थे" जन हृदय आनन्द हँसिला
अरूलाई पोस्ने हृदय छ कचौरा रस भरी
त्यसैले हो बास्ना मगमग चलेको हरहरी ।