भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

फूल काँडा र देश / रीता खत्री

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

भीरमा फुलेका छन्
सपनाका गुराँसहरु
कसरी टिप्छौ र सिउरिन्छौ
समयको सल्लेरी चुल्ठोमा

अविराम बगेका छन्
जीवनका अप्ठ्यारा नदी
कसरी तर्छौ र पुग्छौ
आकांक्षाका सुदूर किनारा

उत्साहका आकाशबाट
अपेक्षाको झरी बसा्रएर
तिमीले सिन्चनु छ
प्रत्येक खडेरीग्रस्त मनहरु
जन्माएर एउटा निरोग बिहान
चिर्नु छ बाक्लिँदै गएका उदासी रात
पुछ्नु छ
प्रत्येक कौतुहल आँखाका बलेसीबाट झरेका
आँसुका बलिन्द्र धारा
असम्भव तगारो उक्लेर
तरल पानीमा फुलाउनु छ
आगोको भर्भराउँदो फूल
र फर्काउनु छ
निमुखा सपनाहरु बोकेर टाढिएका
असंख्य तन्नेरी वसन्त

मुटुमा देश बोकेर
भविष्यको उकालो उक्लँदै गर्दा
कहिलेकाहीँ
भोक लाग्न सक्छ राष्ट्रियताको
तिर्खा लाग्न सक्छ स्वाभिमानको
आऊ एकछिन
जीवनको चौतारीमा सुस्ताऔँ र सोचौँ
जहाँ काँडाहरु रुपान्तरित हुन सकून् फूलहरुमा
समय बगर होइन सङ्लो नदी बगोस्
खण्डखण्डमा विभाजित नभई मान्छेहरु
चुलिन सकून् समानताको अग्लो हिमाल
जहाँ निर्वाध उभिएर गाउन सकौँ
स्वाधीनताको अमर गीत ।

...................................................................

(यो कविताले नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव २०६८ मा प्रथम स्थान प्राप्त गरेको थियो ।)