भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

फेरि ईश्वरको हत्या भएछ / मौन आवाज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बस्तीमा एकाबिहानै हल्ला भयो
ईश्वरको कुरुप लास शौचालयमा भेटियो रे !

कसैले भन्यो
कारागारबाट फरार कैदीले
ठीक निधारमै ताकेर गोली हानेको हो !

कसैले भन्यो
गजेडी युवकले ढुङ्गै ढुङ्गाले हिर्काएर ईश्वरलाई मार्यो !

कसैले भन्यो
बलात्कृत युवतीले आफ्नै सुरुवालको ईजार फुकालेर
ईश्वरको घाँटी थिचिन् !

कसैले भन्यो
गोठालो गइरहेको अबोध बालकले
खाजा खान नपाएको रिसले ईश्वरलाई मार्यौ !

कसैले भन्यो
लेनदेन नमिलेपछि वेश्याले ईश्वरको लिङ्ग काटेर
रामनाम सत्य पारी !

कसैले भन्यो
आजन्म मन्दिर कुर्दा कुर्दै थाकेको भक्तले
ईश्वरको सफाया गर्यो !

कसैले भन्यो
ईश्वरसँग नास्तिक कविको दुश्मनी थियो
र कविले ईश्वरलाई कीचिमिचि पार्यो !

कसैले भन्यो
ईश्वरको भरियासँग बाटोमा भनाभन भएको थियो
र भरियाले ईश्वरलाई भीरबाट खसाल्यो !

कसैले भन्यो
व्यापारीसँग ईश्वरको साँठगाँठ थियो
र व्यापारीले कन्ट्याक्ट किलर मार्फत
ईश्वरको अन्त्य गर्यो !

कसैले भन्यो
ईश्वर प्रतिपक्षीसँग मिलेर कुनै गुप्त योजना बनाउँदै थियो
र सत्तापक्षले ईश्वरलाई नष्ट गर्यो !

कसैले भन्यो
ईश्वरलाई आतंककारीहरूले एम्बुसमा पारे
कसैले भन्यो
ईश्वर पक्षधरताको वकालत गर्थ्यो
त्यसैले कुनै उत्पीडित समुदायले ईश्वरलाई समाप्त पार्यो !

कसैले दलितद्वारा ईश्वर मारियो भन्यो
कसैले ब्राम्हणद्वारा नै ईश्वर खत्तम पारियो भन्यो
कसैले के भन्यो / कसैले के भन्यो !

कसैले भन्यो
ईश्वर रक्सीले मातेर आएको थियो
र पिसाब फेर्दा फेर्दै आफैँ ढल्यो !

कसैले भन्यो
ईश्वर बिरामी थियो !

कसैले भन्यो
ईश्वर पागल थियो !

कसैले भन्यो
ईश्वर कामुक थियो !

कसैले भन्यो
ईश्वर पतित थियो र विधवा आइमाईले कोठामा थुनेर
ईश्वरको हत्या गरेको हो !

अकस्मात्
कोही भीडमा देखियो
र भन्यो -
"ईश्वर मरेको होइन भुस्याहा कुकुर मरेको हो !"


०००