भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

फेरि मान्छे / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मिल्किएर समयको किनारमा
आकार आकारको अस्तित्वको मौन विज्ञापन
गरिरहेछ मान्छे
युगौँदेखि
अझै गरिरहेछ
विज्ञापन युगलाई नै
निरन्तर/निरन्तर।
 
बोकेर व्यतिरेकहरू
संयोगका/वियोगका
परिश्रमको नाममा
आफै पुरिने खाडल खनिरहेछ मान्छे
खेप्दै छ
मान्छे हुनुको क्रूर नियति
युगौँदेखि
चुपचाप/चुपचाप।
 
जून पोखिएर
धरतीले उन्मुक्त आह्लाद समेटेको बेला
हाम्रा मान्छेहरू
लोडसेडिङ रोइरहेछन्
आफ्नै सपनाको मलामी बनेर
आलस्य हिँडिरहेछन्
विडम्बनाको एउटा जुलुस
र हिँडिरहने छन् कहिलेसम्म
थाहा छैन।
 
आँसुको भेलले
मनको ढिस्को काटेर लगिसकेको थाहा छैन
तैपनि मान्छे
उरालिरहेछ स्नेहको नदी मनमुटुबाट
कहिलेसम्म आँसु बाँच्छ मान्छे
थाहा छैन, कहिलेसम्म वेदना बाँच्छ मान्छे
त्यो पनि थाहा छैन।

अनादि यात्रामा
धेरै धेरै अनुभव सँगालेको छ मान्छेले
आफू भत्केर
अरुका लागि बाँचिदिनु पर्ने दुर्दान्त पीडा
त्यो मान्छे बाहेक अरूलाई थाहा छैन
आशाको बिस्कुनमा
भँगेराका बथान चर्दा पनि
निराशाको कालो बादल
टाउकै माथि झर्दा पनि
लाचार/विवश/निर्विकल्प
टुलुटुलु हेरिरहनु
चुपचाप चुपचाप सहिरहनु
सायद मान्छे नियति
योभन्दा पृथक् ढङ्गले परिभाषित हुन सक्दैन।
 
तुन्दातुन्दै जिन्दगीका रहरहरू
छेक्दाछेक्दै भावनाका लहरहरू
नेटो काटेको उमेरलाई हेर्छ मान्छे कहिले
समयलाई उकेरा लाउँदा लाउँदै
उन्मुक्तिका गीतहरू गाउँदा गाउँदै
समय हुर्कन्छ मान्छेलाई उछिनेर
समय रमाउँछ मान्छेलाई पछारेर
फेरि पनि मान्छेले
समय गान गाएकै छ
समयकै अनन्त महिमा गुन्गुनाएकै छ
किन पोख्छ क्रूरता समय
मायालु मान्छेहरूमाथि
थाहा छैन।
 
निर्वस्त्र ढाडहरू
वेदनाको भारी बोक्छन्
एउटा जिन्दगी
यसै गरी पनि बित्न सक्छ
सुकुमार हातहरू
रातदिन घन ठोक्छन्
एउटा जिन्दगी
यसै गरी पनि बितेकै छ
भत्किएर बाँच्नुमा
जिन्दगीको आफ्नै मजा छ
त्रासद वैभवको जन्जालमा
निस्सासिएर बाँचेको जिन्दगी
यस्तो जिन्दगी हामीलाई मन्जुर छैन
झ्यालढोकाबाट अहर्निश चिहाउने
अभावसँगको वीरतापूर्ण लडाइँमै
जिन्दगीको सार खोज्न
अभ्यस्त छौँ हामी
समस्याको थाप्लोमा
पाखुरी बजारेरै
बाँच्ने आधार खोज्न
अभ्यस्त छौँ हामी।
 
स्वाभिमान चुलिएका
अग्ला हिमालबाट
आत्मीयताका झरना झर्छन्
मान्छेकै आकृति मुस्कुराउछन् त्यहाँ
निराशाको बादल च्यातेर
कलिलो सूर्य फुल्छ
पूर्वी सुदूर क्षितिजमा
मान्छेकै अनुहार उज्यालिन्छ त्यहाँ
उधिनेर प्रतिकूलताको डङ्गुरबाट
अनुकूलताका रासहरू
हाम्रो मान्छे
एउटा एउटा दधीचि बाँच्छ
एउटा एउटा प्रमिथस बाँच्छ।
 
आलस्य ओढेका अनुहारहरू
गर्मीमा ज्याकेट फुकाले झैँ
फुकाल्छन् आलस्यता
र चुल्याउँछन्
कर्मयोगका कीर्तिमानहरू
उदासी पोतिएका अनुहार
स्निग्ध पोखरीमा पौडिन्छन्
र उत्खनन गर्छन्
उत्साहका आत्मबोधहरू
निरालस बाँच्नुको सुकिलो उपक्रम
घाम बनेर टल्कन्छ बस्तीमा
जून बनेर पोतिन्छ बस्तीमा।
 
मान्छे छ र
सुन्दर देखिन्छन् सेताम्मे हिमालहरू
मान्छे छ र
एक ओठ मुस्कुराउँछन्
सौन्दर्यका जुन्किरीहरू
वसन्त आउँछ बस्तीमा
र उल्लास मनाउँछ मान्छेसँगै
शिशिर ओर्लन्छ
र वेदना साटासाट गर्छ मान्छेसँगै
धानखेतमा बयेली खेल्ने हावा
चौरभरि गलैँचा ओच्छिने दुबो
खोलामा बग्ने कलकलको पवित्रता
सबैको भरोसाको केन्द्रमा छ मान्छे
हाम्रो मान्छे।
 
फेरि पनि मान्छे
किन विवश छ खेप्न वेदनाका जन्जालहरू ?
किन फसेको छ मान्छे
व्यथाको अरण्यमा?
किन बजाइरहेछ मान्छे
अभावका अनन्त शास्त्रीय सङ्गीतहरू?
संसार सबैको हो भने
देश कसैको पेवा होइन भने
किन हाँस्छ
एउटा मान्छे रुँदा अर्को मान्छे?
एउटा मान्छे उग्राउँदा
किन अर्को मर्छ भोकले?
किन मान्छे मान्छे मान्दैन
आफूजस्तै अर्को मान्छेलाई?
र किन ओढ्छ मान्छे
कथित सभ्यताको खोल
आफै छोपिने गरी?
किन ... ... ... ... ?
... किन ... ... ... ?
... ... किन ... ... ?
... ... ... किन ... ?
... ... ... ... किन ?
यस्तैयस्ता प्रश्नहरू
म सोधिरहेछु
संसारलाई
समयलाई
मान्छेलाई

सबैभन्दा बढी
सायद आफैलाई।