फोर्टिन फेब्रुअरीको साँझ : ताजमहल अगाडि उभिएर / दीपक शम्चू
प्रेमिकाको तस्बिर बोकेर हृदयमा
फोर्टिन फेब्रुअरीको साँझ ताजमहल अगाडि आइपुगेपछि
लाग्न थाल्यो
मृत्यु पर्खनकै लागि हामी आपस्तमा प्रेम गरिरहेका रहेछौं ।
हामीले त
मृत्युलाई अस्वीकार गर्दै प्रेमको हत्या गर्न खोजिरहेका रहेछौं
कोमल प्रेमको रहर पालेर झनै क्रूर बनिरहेका रहेछौं ।
शाहजहाँ !
म अहिले ताजमहलको सौन्दर्यले मातेको सुरमा
तिमीले बिताएको इतिहास पल्टाइरहेको छु
मिनारको उच्च बिन्दुबाट बिच्छ्याउँदै आँखा
प्रेममा बिक्षिप्त भई बाँच्नेहरूका प्रेमकहानी खोजिरहेको छु ।
भौतिक सम्पन्नता नै प्रेमको पूर्णता हुँदो हो त
किन जित्न सकिनन् मुमताजले मृत्यु ?
वैभवले मात्र प्रेम प्रदर्शन हुँदो हो त
किन भुल्न सक्दैन इतिहासले
ताजमहल बनाउँदाबनाउँदै मरेका
मजदुरहरूका प्रेमिकाले खसाएको आँसु ?
शहंशाह !
तिमी क्रूर थियौ र त प्रेमिल हुन सक्यौ
तिमी प्रेमिल थियौ र त क्रूर बन्न सक्यौ ।
फोर्टिन फेब्रुअरीको साँझ ताजमहल अगाडि उभिएर सोच्दैछु
मृत्यु भेट्टाउनकै लागि हामी परस्परमा प्रेम खोजिरहेका रहेछौं
मृत्यु पर्खनकै लागि हामी आपस्तमा प्रेम गरिरहेका रहेछौं ।
०००