फोसिल अनुहारहरु / विमला तुम्खेवा
एक हूल अनुहारहरु
विश्वास च्यातिएपछि
फिरादपत्र लिएर आक्रोशित छन्
म,
दुःखद् संस्मरण समेटेर
विसंगत मान्छेहरुको भीडसँगै
मनभरि युद्ध बोकेर बाँचिदिएकी छु
जीवन —
लेख्नै नसकिने कथैकथाको अधुरो कथा रहेछ
अचेल, स्तब्ध छ मान्छे
चोटैचोटको आलो घाउ भएर
फेरि
घाउहरुको प्रतिस्पर्धा नहोस्
मृत्युहरु नजन्मिऊन् ।
व्यक्त गर्न नसकिएको
रित्तो दिनहरुको रित्तो अनुभूतिहरु
एउटा —
अनिश्चित भविष्य भएर
उभिएको वर्तमानबाट
सधैँ आगोकाफिलिङ्गो निस्किने गर्छ
र,
ठीक त्यसै बेला
कोलाहललाई चिर्दै एउटा मृत्यु जन्मिन्छ ।
फुस्स रङ्ग उडेका फोसिल अनुहारहरु
ढल्न लागेका दुःखद् साँझहरु
असहमतिको आवाज उठाउँदै
अस्वीकृत छन् साँझहरु
आऊ — यो साँझ
तिमी र म विचार साटासाट गरौँ ।
किन सोच्न सक्दैनौँ
हामी —
सबै मानव हामीजस्तै मानव हो भनेर
किन सोच्न सक्दैनौँ
हामी
यो देशको माटो मेरो हो भनेर
आऊ,
तिमी र म
एउटा इतिहास कोरौँ सभ्य मान्छेहरुको
आऊ
तिमी र म एउटा जीवन बाँचौँ हार्दिकता र उदारताको ।