भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बग्दै बग्दै जाने छोरासँग / विवश पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


ढुङ्गो बनाएर एउटी आमाको मुटु
पानीमा बगाइदिएकी छु
मेरो खुसी र मेरो प्राण र मेरो सपना
जानू, बग्दै बग्दै जानू
जहाँ माटो भेटिन्छ, त्यहीँ टक्क अडिनू
र समाधिस्थ हुनु ।
जीवनभरि माटोसँगै खेले पनि
माटोमै हुर्किए पनि
हामीसँग आफ्नो भन्ने
माटो नै कहाँ थियो र तँलाई गाड्नू !
तैँले नाङ्गैभुतुङ्गै खेल्ने ऐलानी आँगन
सरकारको थियो
तेरो बाबुले बर्खामा जोतेर
हिउँदमा धानको शिला खोज्‍ने गरेको खेत
मालिकको थियो
हामीसँग माटो त त्यति मात्र थियो
जुन श्रमको पसिनासँगै
हाम्रा आङ्‌मा टाँस्सिएर आएका थिए

आज बाढी बनेर आएको आँसुका भेलमा
ती माटोलाई पनि खलक्क पखालेर
अचानोमा राखेर आफ्नो मुटु तँलाई विदा गर्दैछु ,
जानू खुसीले जानू
जहाँ माटो भेटिन्छ त्यहीँ टक्क अडिनू
र समाधिस्थ हुनू ।

अनियन्त्रित छाल भएर आइरहेछन्
तँ जन्मनू अघि र पछिका सम्झनाहरू
तँ जन्मिएको दिन, नेपाल बन्द थियो
अस्पताल बन्द थियो
हड्तालमा थिए डाक्टरहरू
एक हप्तादेखि काम नपाएर
सुत्केरी उकास्न नसक्नुको पीडामा
झोक्राइरहेको तेरो बाबू
थचक्क घरछेउको खेतको आलीमा बसेर
क्वाँक्वाँ रोइरहेको थियो
र भगवान् भनाउँदो ढुँङ्गोसँग
तेरो सुखद आगमन र मेरो सुस्वास्थ्यको
प्रार्थना गरिरहेको थियो

घाम र पानी दुवैले पोल्ने र रुझाउने
घर नामको एउटा सानो टहरोमा
तँ जन्मिएको थिइस्
त्यहीँ मालिकको घरको
उब्रिएको जूठो र बासी भात खाएर
उक्सिएकी थिएँ म सुत्केरी
सुत्केरी भएको दिन ,मात्र एकदिन चिसो कुनामा
एक मुठी सन्ठी र एक मुठा पराल बालेर
सेकाएकी थिएँ आफ्नो चिसिएको आङ
तातो पानीलाई तेल बनाएर दल्दै
तङ्ग्राएकी थिएँ आफ्नो शरीर

तँलाई जीवनको गहिरो नदीमा
डुबुल्की मार्न सिकाउँदा सिकाउँदै
तैरिन सिकाउँदा सिकाउँदै
आफ्ना इन्द्रेनी सपना डुबाएर स्तब्ध छु
खुसी डुबाएर स्तब्ध छु
तँ यो देशमा दुखै पाउन त आएको थिइस्
दुखै पाएर गइस्
जानू……….., तैँले पानीमा खेलेका कागजका नाउजस्तै
कतै नडुबी बग्दै बग्दै जानू
अदृश्य बतास र समय जस्तै सुस्तरी…….. बग्दैबग्दै जानू
तँलाई बेरेर बगाउन पनि मसँग
यो लाएको झूत्रो साडीबाहेक केही थिएन
जुन साडीको रङ
कुनै राजनैतिक दलको झन्डासँग मिल्दैन
समानता, आरक्षण र स्वतन्त्रतासँग मिल्दैन
हाम्रा पसिना, आँसु र जीवनसँग मिल्दैन
त्यही साडीलाई च्यातेर
तेरो अगाध मायालाई टपक्क निकालेर मुटुबाट
यो धमिलो…….. पानीमा बगाइदिएको छु
मेरो खुसी र मेरो प्राण र मेरो सपना
जानू, बग्दै बग्दै जानू
जहाँ माटो भेटिन्छ त्यहीँ टक्क अडिनू
र समाधिस्थ हुनू ।