Last modified on 4 अगस्त 2016, at 09:42

बनेको छ पहराले यो छाती मेरो / गोपाल योञ्जन


बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरूमा जन्मी टाकुरामा खेल्ने
म झुक्दै नझुक्ने नेपालको छोरो

खोसेको रोटीले मेरो पेट भरिन्न
मागेको धोतीले मेरो लाज छोपिन्न
घोटिएर हातपाऊ झरिजाउन औँला
तर कोही अगाडि यो हात जोडिन्न

म आगो सहन्छु अन्याय सहन्नँ
म तृष्णा सहन्छु तिरस्कार सहन्नँ
मेरो शीर उडाऊ बरू त्यो सहन्छु
तर कोही परायाले टेके सहन्न