भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बम नहान / दैवज्ञराज न्यौपाने

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


१.
हो म पग्लिदिन सक्छु
एक टुक्रा बादल बनेर
हो म बगिदिन सक्छु
एक थोपा आँसु बनेर
तर तिमीले पनि त पग्लिदिनु पर्छ
एक टुक्रा बादल बनेर,
तिमीले पनि त बगिदिनु पर्छ
एक थोपा आँसु बनेर।

२.
मान्छे ! ए मान्छे ! तिमी नदेखाऊ न बम
जित्नु पर्दछ मान्छेलाई न्यायले
जित्नु पर्दछ मान्छेलाई दयाले
अनि जित्नु पर्दछ मान्छेलाई मानवताले
त्यसैले,
बम नहान मान्छेमाथि
बम नहान धर्तीमाथि।

३.
त्यो आकाश हो त्यहाँ बम नहान,
त्यो समुद्र हो त्यहाँबम नहान,
तिमी पनि त पर्न सक्छौ
तिमीले खनेको खाल्डामाथि,
तिमीले म बनायौ भने
म पनि त बम बनाउन सक्छु,
अनि हान्नेछु तिम्रै छातीमाथि
त्यसैले,
बम नहान मान्छेमाथि
बम नहान धर्तीमाथि ।

४.
यो समुद्रको पानी यति मात्र होइन,
यो त जेलिएको छ समस्त धर्तीमाथि
तिमी पनि त सास फेर्छौ,
अनि जानु छ तिमीले नै आकाशमाथि
त्यसैले,
बम नहान समुद्रमाथि
बम नहान आकाशमाथि ।

५.
यो बूढो मन्दिर
अतीतको गर्भमा इतिहासका पानैपाना छन्,
त्यहाँ पाउन सक्ने छौँ हामीले हाम्रा पुर्खाहरूलाई
त्यहाँ पाउन सक्ने छौं हामीले हाम्रा कलाहरूलाई
अनि भविष्यमा पाउन सक्नेछन् हामीलाई
हाम्रै सन्तानहरूले
त्यसैले,
बम नहान धर्तीमाथि
बम नहान आकाशमाथि।

६.
तिमी बाँचे झैँ नै
उसले पनि त बाँच्नु पर्छ,
ए मान्छे ! किन हान्छौ बम मान्छेमाथि
तिमीले चन्द्रलोक भेट्टायौ त
म बुधलोक भेट्टाउँला,
अनि उ भेट्टाउला शुक्रलोक
तब सँगसँगै आवाद गरौँला आकाशमाथि
तिमी नसम्झ अब पुग्दैन धर्तीले,
धर्तीले पुग्दैन त
बस्ती सारौँला आवाद गरेको आकाशमाथि
अनि बन्धुत्व बढ्नेछ धर्तीमाथि
अनि मित्रत्व बढ्नेछ आकाशमाथि
त्यसैले,
बम नहान मान्छेमाथि
बम नहान धर्तीमाथि
बम नहान आकाशमाथि।