भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

बर्लिनको पर्खाल / विनय रावल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

‘पर्खाल लगाएपछि
धेरै कुरो बाहिर पर्छ’
र, सबैभन्दा ठूलो कुरो
मान्छे—
मान्छेको आँखाबाट ओझेल हुन्छ ।
 
पर्खाल लगाउनु भनेको नै
मान्छेको अपमान गर्नु हो
मान्छेलाई मान्छे नहुन दिनु हो
चाहे बर्लिनको पर्खाल होस्
चाहे चाउचेस्कुको साम्यवादको पर्खाल होस्
कुनै पर्खालको नियति पनि यही हो ।
फेरि पनि मान्छे
किन लामो पर्खाल ठड्याउँछ ?

के पर्खाल लगाएर
मान्छेको जात हराएको छ ?
 के पर्खाल लगाएर
मान्छेको विचार रोकिएको छ ?

पर्खाल लगाएर केही दिन
कसैलाई पनि तर्साउन सक्छौ
कसैलाई पनि एक्लो पार्न सक्छौ
तर, पर्खाल स्वयम्मा एउटा विडम्बना हो
यो कहिल्यै अजम्मरी हुँदैन ।