बल्झिरहने यो रिक्तता / राजेन्द्र भण्डारी
कुइरो, बादल, धूवाँ  
बिजुली, जून, तारा
यी केही पनि होइनन्, आकाशका । 
एकलासको एउटा हावाघर हो आकाश ।
पीडाका भ्वाइलिन, 
उच्छ्वासका सारङ्गी 
र उन्मादका धिन्ताङहरू
यी केही पनि होइनन् मनका । 
मन भन्नु एउटा रित्तो गिलास । 
आज अलिकति रक्सी ।
भोलि सर्बत र पानी ।
मन भन्नु एउटा रित्तो आकाश । 
तर पनि एउटा रिक्तता
किन सधैँ भरिन चाहिरहन्छ ?
एउटा मौनता किन एक्लै छटपटाइरहन्छ ? 
एक मुठी हाड अनि मासु
केही धडकन र अलिकति आँसु 
किन गीत बनेर फुटिरहन्छ ?
बाटोले लगिसक्यो पैताला । 
इच्छाले जिन्दगी किनिसक्यो। 
समयले चुसिसक्यो गालाको लाली । 
सबैथोक र सबैथोक नै मास्सिइसक्यो । 
तैपनि एउटा रित्तो सडकमा
एउटा रित्तो मान्छे के–के खोजिरहन्छ । 
अब किन्नु केही छैन ।
तैपनि कोटको खल्तीमा एउटा पुरानो मोहर 
किन अल्झिरहन्छ ? 
आकाशको आफ्नो रङ्ग छैन ।
तैपनि आकाशको नीलो किन बल्झिरहन्छ ?
	
	