बहुलाहाले / बालकृष्ण सम
१
सुख !
तँ भागी रहेछस्, म खोजी रहेछु । 
पगाले सुनको लाप्सा, डाडूले भित्र खोतली 
खारी रहें; माछापुछे पागोको लप्का हावामा 
छट्पटाइरह्यो, अनि रिसायो; कालको कालो अनुहारमा 
बाहिर निस्केको सेतो दाह्रा रातो आँखा सुन्तलारङ्गी 
जिब्रो भने हने ती ज्वालाले आपसमा धक्का मार्दै 
पुरा तातो गराई क्रमसंग सहजै त्यो खरानी बनाए । 
धनी सुख ! 
केलाएँ कति वर्ष वर्ष लहरै सानो खरानी पनि,
फोडे, भिन्न गरें, हुँदै फुकि फुकी हावा तुल्याए अनि; 
दौडे पछि पछि, 
सुख ! 
तँ भागी रहेछस्, म खोजी रहेछु । 
२
गीत ! स्वर कँपाएँ, चढाएँ, गला भित्र रेटें, 
सबै यी नसा तारजस्तै वजाएँ; 
प्रेमसागरमा आँसुको लहरी उठाएँ गाएँ, वियोगमा 
बादलमा हाँसोको मेघ गर्जाएर गाएँ, 
आँखाबाट झिकी चरक्क बिजुली 
छातीमा बज्र पारेर गाएँ; अजविलाप गाएँ, 
रतिविलाप गाएँ भमराको पखेटाको बाजामा, 
पुतलीको पखेटाको तालमा, माया गाएँ, 
निर्माया गाएँ, आशा गाएँ, निराशा गाएँ; 
स्वर बस्यो, 
रमाइलो सुख ! 
तँ टाढा पुगिस् व्यर्थमा अल्मलाई, 
यहाँ रोगले रोक्न लाग्यो मलाई, 
नफा भनू भने यही नयनको स्नान भयो ! 
सुख !- 
तँ भागी रहेछस्, म खोजी रहेछु । 
३
रक्सी! रक्सी ! रक्सी ! 
चीसो पग्लेको मानिक, वा पुष्पराज, वा हीरा, बर्फ ! 
दुःखी- 
दुःखी यो दुनियाँ यसै बगिरहोस् भन्दै थिएँ जोशको 
त्यो तेजाब; ढलें, मरें, मरिसकी ब्यू झेर यो होशको 
शिक्षा एक लिएँ- 'कहाँ , सुख मिल्यो ? बिर्सेर एकै छिन 
सम्झें दुःख ... ... 
बिर्सिनु नहुनु होइन, मर्नु नभोग्नु होइन ।' 
मीठो सुख ! – 
तं त्यागी रहेछस्, म लागी रहेछु । 
सुख ! - 
तँ भागी रहेछस् म खोजी रहेछु 
४
अत्तर गुलाफको कोपिला ! 
सुख कहाँ छ ? 
मलाम भनिठानेर चुसें चुम्बनले रस, 
निलें, छाती दुख्यो, घाउ बिसायो, - 
- - - - - - - रस वा विष ? 
राम्रो सुख ? 
मानिस मरेपछि उसको हिस्सी हराएजस्तै त हराइस् ? 
शून्य सुख ! 
जति खोजिन्छस् उति पर पर उछिटिन्छस्, 
जति खोजिन्नस् उति उति ... ... ? 
देखें देखें ! 
सुखी सुख ! 
बिराएँ ! 
तँ भित्रै रहेछस् उसै यो भनेछु, 
"सुख !- 
त भागी रहेछस्, म खोजी रहेछु ।" 
शारदा, १६, कार्तिक १९६३
	
	