भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बाँकी उज्यालो / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सबैभन्दा छोटो हुन्छ
सपनाको आयु
सपनाभन्दा छोटो छ बाँचेरीको उमेर .
 
घाउहरूको सञ्चित घर
युगहरूको अवशेष हो उसको जीवन
यही युगको कविता खोज्न निस्केको म
राराकी गर्भवतीझैँ
कष्टको अविराम कर्णालीमा
आइपुगेको छु, र,
सुसाउँदै छु मुगुका उदासीहरू

आमा बन्नु पनि कत्रो अभिसाप !
न बोक्न सक्नु
न बिसाउन सक्नु !
गान्धारीको गर्भमा बसेको
जड समयको प्रतिनिधिझैँ
को हो त्यो उसको कोखामा
बारबार यसरी हानिरहने ?

यत्ति निष्ठुरी छ यो बाँचेरीको गर्भ
मात्र चालिस बर्षे औसत आयु पनि
सिसिफसको नियति भएको छ उसलाई!
 
आफ्नो युगको आफैसँगको प्रतिस्पर्धी
यतिबेला आफैभित्र महसुस गर्दै छे ऊ
एउटा सुकेनास युग जन्माउने तरखरमा
भर्खरै उसले अन्तिम पटक घुमाएकी छ, आँखाको नानी !
र नानीभित्रको बाँकी उज्यालो
भर्खरै खसेको छ, राराको पानीमा ।
 
कैयौँ आउने जाने समयले
यही पानीमा हेरेका छन् आफ्ना अनुहारहरू
भर्खर त्यही पानीमा
अनुहार हराएर फर्किएकी छ, बाँचेरी!