भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

बाँच तिमीले बाँच्नुपर्छ ! तिमी भन्छौ / ठाकुर बेलवासे

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

यात्रामा देखिँदै गरेको उज्यालोले
आँखामा पट्टी बाँधेर
मलाई डोर्‍याइरहेको हुन्छ ।

आँखाको लोभ नगर
लोभ नगर हात र खुट्टाको
अग्निकुण्डमा हाँसोलाई आहुति दिएर
तिमी भन्छौ
बाँच, तिमीले बाँच्नुपर्छ ।

मेरा लागि केही बाँकी छैन
म हरक्षण
हर ठाउँ
रक्ताम्य लड्नुपर्छ ।

टाढिँदै गयो बालापन मसँग
म किनारबाट अँध्यारोमा हात हल्लाइरहेँ ।

यौवन बासको पातजस्तो
सुकेर धेरै समय
ममा झुन्डिरह्यो
कुन गल्लीमा
कुन बेला झर्‍यो
मेरो बैँस ।

क्षितिजको हिमालजस्तो तिमी
तिमीतिरबाट आइरहेका छन्
मलाई लखेट्ने सारा दुःखहरू ।

मैले मृत्यु पिइरहेको छु
सायद
तिम्रो दीर्घायुका लागि
बाँच तिमीले बाँच्नुपर्छ !
तिमी भन्छौ ।