बाँझो बादलको सुख्खा छाया / ईश्वरवल्लभ
अनुबन्धित मेरा सीमाहरूलाई
जीवनका आस्था र विश्वासभरि
बाँधेर सडक सडक र गोरेटा अनि गल्लीहरूमा
उकाली उभिएका सडक थिच्दै उकाला भवनहरू
र आयतनका गजूरहरूमा,
उभिएका टुँडिखेलका सालिकहरू चलमलाउँछन्
हिजोलाई यस बाटोसम्म घिसारेर ल्याउन ।
भित्तामा टाँसिएर लेप्सिएर उक्लँदै गरेको आकाश,
बाटो बन्द भएका, अनि लम्पसार ।
आयतन नभएका गोरेटाहरू
अन्त्यसम्म पहिल्याउन चाहने खुट्टा,
आजका सपनाभरि छन् विपनाका छिद्रहरू खोजिरहेका ।
मनभरिको पश्मिना भुवामा हजार-हजार 'कलतरकैँफ'
एक कोठाभरिको अँध्यारोमा पनि सम्झेर,
शङ्कराचार्यको दिग्विजय काँधमा सम्हाल्दै, मानिस जित्दै,
खालि ठाउँको सङ्कीर्णमा पाइला सार्ने
मेरो आफन्त र छिमेकमा परेको बैँसालु आँखामा
पहाड ओझलिन्छन्; छायामा उजिलिन्छन् र खुल्छन् ।
बालक औँलाहरूले खेलाएको 'सभ्यताको निम्ति सङ्घर्ष'-
धरतीको कुना-कुनाका प्रेत्रार्कको सन्यासी पवित्र वासना
धरतीको कुना-कुनामा बिस्मार्क र बिस्मार्क जर्मनी,
मौलिन्छ, क्लियोपेट्राको सपनामा ।
जिरेनियम र बाबरीको फूलमा ।
एक टुक्रा बाँझो बादलको सुक्खा छाया,
सधैँ थारो तर, लैनु कहिले-कहिले धरतीमाथि
अल्झिन्छ इतिहासलाई भित्तासम्म तानेर
केही पनि गर्न सक्दैन एक बैँसले
केही उमार्न सक्दैन एक वसन्तले,
केही पनि गर्न सक्दैन एक पोखरी लहरले ।
नयाँ सडकको मानिसको सालिक
सुरक्षामा आक्रमण गर्छ ।
कुल्तुवकाम्फमा, बिस्मार्कमा पेत्रार्कमा,
केही पनि सक्दैन गर्न,
मुनि रातो रेखा तानिएको चिनो लाएको मानिसको जिन्दगी ।