भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बाटो खनी जाने शहीदहरू / कृष्णभूषण बल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बादलहरू च्यातेर घाम निकाले हाम्रा सहिदहरूले
तर त्यो घाम उनीहरूका सपनामा कहिल्यै लाग्न सकेन
तुवाँलाहरू फटाएर सिङ्गै आकाश दिए हाम्रा सहिदहरूले
तर त्यो आकाश उनीहरूको भविष्यले कहिल्यै भेट्न सकेन ।

तिर्खाले व्याप्त धुकधुकीमा मुहानै खन्याइदिए हाम्रा सहिदहरूले
तर चैतको खडेरीले मुहानै सुकाइदियो,
यहाँ कसैले तिर्खा मेट्न सकेनन्,
बुच्चे चरीहरूमा प्वाँख भिराए हाम्रा सहिदहरूले
तर भोका चरीहरू भोकले कहिल्यै उड्न सकेनन्।

वर्षौं अन्धा रहेका अन्धाहरूलाई आँखा दिए हाम्रा सहिदहरूले
तर अन्धाले आँखा पाउँदा आफैलाई चिन्न सकेनन्
जाडाले कठ्याङ्ग्रिएकाहरूलाई,
भावनाको दोलाईं र कम्बल बाँडेका हुन् हाम्रा सहिदहरूले
तर ओढ्नेले कहिल्यै ओढिदिएनन्
अब त यस्ता दाताहरू यी आँगनहरूमा कहिले आउलान् र
जबकि यहाँ त सहिद बन्नु पनि अभिशाप छ
किनभने यो देश नै यस्तो हो जहाँ सतीको श्राप छ ।