बाटो हराएको गाउँ / गीता त्रिपाठी
बर्षौंअघि
बाटोको साथ लागेर
आइपुगेथेँ यहाँसम्म
बर्षौंपछि अहिले
त्यहाँसम्म फर्किन
बाटोले नै मेरो साथ मागिरहेछ
भोकाएको बालकजस्तो
पर्खिरहेछ बाटो हराएको गाउँ
फनफनी रिङ्दो हो सोचेर-
कसरी आउँछ यसपालि दसैँ
यो गाउँमा !
म बाटोको गीत
कहिले पहिरोले गाउँछ
कहिले बाढीले गुन्गुनाउँछ
बाटोविनाको गाउँसँग
नयाँ बाटो भएर
जोडिनुछ मैले यसपालि
मविना कसरी पुग्दो हो गाउँमा दसैँ ?
बाँधेको छु संवेदनाका भारीहरू
तिमीतिरै आउने हतारमा छु
आहत छु फेरि पनि
हल्लिरहेको छ
एउटा आदिबासी कम्पन
मभित्र
यही भीरको बस्तीमा
पुर्खाले बनाएको बाटो
खोजेर पनि भेटिँदैन आज
म लयविहीन गीत
पहिरोको सङ्गीतले भयभित छु
मैले बनाइआएको यो नयाँ बाटो
इतिहासको कुन खण्डसम्म तन्किन सक्ला ?
कति पाइलाका वजन थाम्ला ?
भन्न नसकेर यो बाटोको लम्बाइ
भन्न नसकेर यो बाटोको आयु
भन्न नसकेर 'यो बाटो खतरामुक्त छ !'
अन्योलग्रस्त छु यो यात्रामा
माग्न नसकेर तिम्रा पाइला
नपाएर कुनै क्रेम्पोन टेकाइ
आफैभित्रको पहिरोमा
रोकिएको छु !
म बाटोको गीत
कसरी तर्नु मैले
एक्लै यो अपार पीडाको ताल
कसरी पुग्नु
यत्रो गर्जनले पनि नब्यूँझिएका
यी बेताल बस्तीहरू छिचोल्दै
दलदलमा भासिएको त्यो हृदयभित्र !
कसरी खोल्नु मैले
यो बाटोको सुरिलो आवाज ?