भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

बिदेसिएका सन्तान हेर्दै / मञ्जु काँचुली

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


वृक्षले आफ्नो घाँटी तन्काएर
आफ्ना सन्तान हाँगा र पातहरूलाई
माथिमाथि हेरिरहेछ
धरतीका गोरेटोले पनि आहपना घाँटी तन्काएरै
बिदेसिँदै गएका आफ्नासन्तानलाई
परपरसम्म हेरिरहेछ
सन्तानले निरन्तर बास छाडेर जाने क्रम दिनदिनै बढिरहेछ
फर्केर आएका भए, ढोकाभित्र पसेका भए
आरती साँवली गर्नुहुन्थ्यो
दहीकेरा खुवाउनुहुन्थ्यो, टीका लगाइदिनुहुन्थ्यो
मन पनि खुसी हुन्थ्यो
तर छोरा, तिमी बिदेश जाँदैछौ
यो सबै त गरुँला
तर भन कसरी खुसी होला ?
यो साँझको समय तिम्रो प्रस्थानसँगै
यो मन र गहिराईभित्रको इच्छा
लुरुलुरु पछि लाग्छन् बिनाअनुमति नै तिम्रा पछि
यो दिलको आँखा तिम्रै शिरको टीकामा टाँसिदिएको छु
यो मनभित्रका ध्वनिका पाइलाहरू पछ्याउँदै छन् तिम्रा शून्य पदचापलाई
एउटा लामो चुपचाप यात्रामा तिमीले थाहै नपाउने गरी एउट अर्धचेतनाको मौनतामा
फर्केर हेर्छु आफ्नो घर
झ्यालका आँखाहरू स्तब्ध छन्
ढोकाको मुख अवाक् छ
भित्ताका बन्द कानहरू
केही पनि सुन्न नचाहेझैँ गर्छन्
मुटु सम्हाल्नै नसकिनेझैँ
फेरि तिमीतिरै ओरालो बग्छ
मभित्र तिमी छौ गङ्गामा सुर्जे बगेर गएझैँ म देख्छु
पोखरीमा चन्द्रमा कुँदिएर गएझैँ म अनुभव गर्छु
यो मेरो जीवनको सन्ध्याकाल
गोधूलिको बिछोड समय
गरागरा हुँदै उक्लिएका जमिनका पहेँला डाँडाहरू
तिमीतिरै हाम फाल्न खोज्दै छन् तल नदीका पानीका चुचुराहरू
अनि नाघेरै ती सबै बस्तीहरू
जब तिमी फर्कनेछौ
गाँस र बासको पुरुषार्थ लिएर
त्यतिन्जेल पर्खनेछु गुँडहरू र गोठहरूले भैmँ यही आँगनमा
यी दुई पाका आँखाका घडामा
मह र माया भरेर
एउटा लामो नीलडाम कालखण्ड यो हृदयमा बोकेर
यसैलाई दुःख मानेर
यसैलाई सुख मानेर !

(कान्छा छोरा विवेक शर्मालाई समर्पण)