बिम्बमा हेर्दा प्रेयसी / गोपी सापकोटा
मेरी प्रेयसीलाई म
बिम्बमा हेर्दो रहेछु– कविताजस्तै
सायद यसैले ऊ
राम्री भएर पनि राम्री लाग्दिन
नराम्री भएर पनि नराम्री लाग्दिन
मात्र केही रङहरुका बिम्बभित्र
उसलाई हेरिदिँदा ।
आवरणमा ऊ निर्मल छे, जूनजस्तै
अन्तर्मन कसले देखेको छ र जूनको !
बस्, ऊ त्यस्तै छे, जस्तो उसको नाम छ ।
उसका पाखुराबाट पोखिने
राता पछ्यौरीहरु जब फहराउँछन्
चैतको उराठे बतासमा
प्रेमको झण्डा फहराएको देख्छु म
चुम्बनको प्रतिक्षामा बसेका
उसका ओठहरुदेखि
नजानिँदो डर लाग्छ
र भाग्न मन लाग्छ ।
राता रङहरुमा प्रेयसी
साह्रै नै राम्री देखिन्छे
मेरी प्रेयसीलाई म
बिम्बमा हेर्दो रहेछु – कविताजस्तै
सिर्जनाको रङ पोतेका
उसका हरिया लुगाहरुमा
बसन्त टुसाउन लागेको देख्छु म
साँच्चै मुर्झाउन लागेको बैंसमा प्रेयसी
यौवनका दुई वसन्त बोकेर
साँझमा पर, केही पर
हरियो डाँडामाथि उदाउनै लागेको
जूनजस्तै छे,
न छुन सकिने, न दृष्टि फेर्न सकिने
मात्र सधैं–सधैं हेरिरहुँ–हेरिरहुँ
जस्तो लाग्दो रहेछ ।
हरिया रङहरुमा प्रेयसी
साह्रै नै राम्री देखिन्छे
मेरी प्रेयसीलाई म
बिम्बमा हेर्दो रहेछु– कविताजस्तै ।
०००