भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बिहानको आकाशलाई / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

 
क.
आकाश ! तँ लुकी पालिरहेछस्आफू खाने केवल अँध्यारो !
ए चोरीको ए रे अँध्यारो !
बिक्रीको,
हुँडारहरुको उल्लूहरुको
षड्यन्त्रीको
दुःस्वप्नीको, निशाचरको,
निर्भीकताको साम्राज्य !
ठुक्री, टुक्री, टुक्री जा
फुस्री, धुस्री, बिलाई जा
जा खण्डहरको बाटो !
जल् बल् अभिशापित हे !
ले, सल्की, मेरा
मूक वेदनाका आज्य !
 
ख.
म सुतेको मानिस हुँ,
जीविततातिर बेहोश !
म लुटेको मानिस हुँ
धनी र वञ्चित, निर्दोष !
हत्याराहरु भागिरहेछन्
छायाहरुका आड लिई
म हतमानव सक्तिनँ बोल्न
बोल्ला नियति काँढ लिई !
 
ग.
उम्ली ! छड्की !
बेहोशीको कालो कराही !
उम्ली !
मानव, सुत्दछ मर्दैन
रात सधैं पर पर्दैन
सारा रङ्गका दुःख मिलीकन
मिसिएको कालो ग,्रङ
कालको झैं रोगन बन्दछ,
अचेतताको निष्पट अङ्ग !
यो युगको हो सन्नाटा,
निशाऽभिध यो सूनसान
आत्महत्या गरेर उठ्ली
पोखरी आफ्नो मुटुको रुधिर यो,
अर्पी आखिर
अहार्य नीतिमा आफ्नो प्राण !

घ.
एउटा चरो छ नेपाली
आफ्नै खरानीबाट ऊ जाग्दछ, युगयुग पङ्ख उचाली,
एक टाकुरा कहीं छ हिमाली
जसमा मानवताको रथको पाङ्ग्रो गुड्दछ एकपाली ।


हाहा ! सुतुवा हो सारा,
दुःख दर्दका अबोल चरुहरु
सकल साँपका पेटारा,
दैन्य, निराशा, लाचारी
अज्ञान, पराजय सारा–
यही कराही कालोमा
उन्ली उठ्दछ आफै यो एक बिहान उज्यालोमा।