बीपी कोइरालासँग / जगदीश घिमिरे
एक वार्ता
तपाईले भत्रु भएको थियो —
‘तिमीलाई दुविधा भयो भने
हत्केलामा नेपालको एक मुठी माटो उचालेर सोध
उसले जे भन्छ
त्यही तिम्रो अन्तरात्माको आवाज हुन्छ ।’
म त्यो वाचाल माटो खोज्दै नयाँ नेपालभरि डुलेँ
कतै पनि सिंगो नेपालको माटो पाइन
समस्त नेपालको माटो विभक्त भएछ
जाति जातिको चकलावन्दीमा
ती चकलाबन्द माटोहरु — जो एकअर्कासंग वोल्दैनन्
जो एकअर्काको कुरा र मर्का बुझ्न चाँहदैनन्
ती प्रत्येक चकलाको माटो ढोगेर हत्केलामा उचाल्दै सोधेँ
सबैले केही भने — कसैले भनेको बुझिन
नयाँ नेपालमा जो कुनै जातिको हुँदैन
जो कुनै चकलाको हुँदैन
त्यो नेपाली हुँदैन
नयाँ नेपालका चकलाबन्द माटोहरूले
सिंगो नेपालको नागरिकलाई चिन्न छोडेछन्
नयाँ नेपालका चकलाबन्द माटोहरूले
सिंगो नेपालको नागरिकसंग नबोल्ने शपथ गरिसकेका छन् ।
एक प्रश्न
तपाईले भत्रु भएको थियो —
राजाको र मेरो घाँटी जोरिएको छ
कसरी जोरिएको थियो ?
उनको तल तपाईंको माथि
वा उनको माथि तपाईको तल
वा हाराहारी
उनको घाँटी ढाल थियो वा तपाईंको ?
कताबाट रेटे ?
राजाको त छिनिई सक्यो
तपाईको चाँही के हाल छ ?
एक जिज्ञासा
तपाईंले भन्नु भएको थियो —
‘मेरो क्यान्सरको चिन्ता नगर
देशको क्यान्सरको चिन्ता गर
मान्छेको चोला एक दिन उठी जाला ।
त्यसको के चिन्ता ?
देशको चोला फेर ।’
क्यान्सर दुई थरि हुन्छन् रे —
एकथरि औषधीले छुने — बिसेक हुने
अर्कोथरि कुनै पनि औषधीले नछुने — विसेक नहुने
के तपाई भन्न सक्नु हुन्छ —
यो देशलाई कुन किसिमको क्यान्सर भएको छ ?
कुनै पनि उपचारले छुने कि नछुने —
सन्जीवनीले समेत बिसेक हुने कि नहुने ?
यो ‘देश’ चिर कालसम्म ‘देश’ रहिरहने कि नरहने ?