भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बेनाम वनफूल / बम देवान

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

विस्तृत/विशाल
घना जङ्गलभित्र
कति–कति मनसुनका हातले उमारे
बेनाम/बेखबर वनफूलहरू ।
र ओइलाए, हराए
बेनाम/बेखबर वनफूलहरू ।

न कुनै कविका आँखाको गहिराइले
छोयो यिनलाई,
न त कुनै युगल प्रेमको भावकुताले
छाम्यो यिनलाई
बिनामूल्याङ्कन
बिनाप्रशंसा

सर्वाङ्ग कठ्याङ्ग्रिने शीतको सारमा होस्
या कालो रातको घनघोर बर्सातमा होस्

शरद्को मादकतापूर्ण सुन्दर साँझमा होस्
या विरक्तिलाग्दो हिउँदको पतझडमा होस्

बेनाम/बेखबर वनफूलहरू
सिर्जनाका रङ्गहरू छरेर
फुल्छन्, वैलिन्छन्
अज्ञात सहिदका आँखाका सपनाहरूजस्तै
यो एकान्त घना जङ्गलभित्र
बेनाम/बेखबर वनफूलहरू ।।