भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

बेपत्ताको आत्मा / हेमन यात्री

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


बाँचेकाहरूसँग त छँदै छैन म
मरेकाहरू सँग पनि छैन
तिमीलाई याद हुनु पर्छ
अझै
शरद ऋतुको एकबिहान
मैले बोकेको
राजनीतिशास्त्र

केही युद्धका
किताबहरू देखेर
कलेज जाँदा–जाँदै
बाटामै अपहृत भएको हूँ म

त्यसयता
बेठेगान छु आजसम्म
टाढाबाट कुनै प्रेमीले
पठाएको चिट्ठी
बाटामै गुमनाम भए जस्तो
यता घरमा
म जिउँदै रहेको भ्रम बोकेर
अन्धकारजस्तो बिश्वासमा बाँचिरहेका
मेरा बा–आमा
परदेश गएको छोरालाईझै
बल मागिदिइरहेछन् अझै

सुम्निमा–
पारुहाङसँग
र दिर्घायुको कामना
गरिरहेका छन्
मन्साउँदै बाटाका सिमे–भूमे
तर
हरेक सपनाभरि
दुःख दिन आइरहने

मलाई थाहा छ
परदेश गएको छोराजस्तो
फर्केर आउने छैन म
मरेकाहरूसँग पनि छैन म
बाँचेकाहरूसँग त छँदै छैन

यसरी
कतिञ्जेल बेपत्ता बनूँ
र दुःख दिऊँ सपनाभरि आएर ?
अब
छुटाइदिनु मेरा लागि
एकमुठी धान
एकमुठी मकै
एकमुठी कोदो
एकमुठी फापर
एकचिण्डो जाँड
एकचिण्डो पानी
एकथान खुकुरी
एकथान भाँडा
एकथान कपडा
एकटुक्रा अदुवा
खर्चलाई
रु. एकको सिक्का
र बनाइदिनू
म अट्नेगरिको
एउटा घर –
घरछेउमै
त्यसपछि
कहिल्यै दुःख दिन
आउने छैन
म सपनाभरि

शरद ऋतुको एकबिहान
मैले बोकेको
राजनीतिशास्त्र

केही युद्धका
किताबहरू देखेर
कलेज जाँदा–जाँदै
बाटामै
अपहरण गरेपछि
तिमीले जिउँदै गाडेको
मेरो खबर
मेरा बा–आमालाई भनिदेऊ
कम्तीमा रात–रातभर
मेरो छायाले
लखेट्दै
दुःख दिइरहने छैन उनीहरूलाई ।