भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

बेपत्ता / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


अझै मेटिएका छ्रैनन्
ब्ल्याकबोर्डमा लेखिएका अक्षरहरू
पढाइरहेको थियो ऊ विद्यार्थीहरूलाई नैतिक शिक्षा
अचानक आएर हतियारधारीले
बलजफ्ती घिसार्दै लगेपछि फर्केको छैन ऊ स्कुल
र कलिला आँखाहरूमा अझै व्याप्त छ त्रास

गाउँमा – चाडपर्व, उत्सवहरूमा
नाचगान, देउसी र भैलोहरूमा
आकर्षण हुन्थ्यो उसको स्वर र ख्यालठट्टा
अझै सम्झनामा छन् – उसले गाएका लोकगीतहरू
मध्यरातमा जङ्गलै – जङ्गल हिँडाइएको ऊ
फर्केको छैन कुनै समारोहमा
उदास छ दौंतरीहरूको अनुहार

हाजिरकपीमा अझै छन् उसका हस्ताक्षर
कोठामा छोडेर सरकारी सेवाको परिचयपत्र
कहाँ पुग्योहोला ऊ
कसले ढक्ढक्यायो होला उसको ढोका अघिल्लो रात
बेखबर कहाँ हरायो ऊ
कसले पार्‍यो बेपत्ता उसलाई र गुमनाम छ ऊ
गुँड नफर्केको गौंथलीजस्तो

रुँदा रुँदा थाकेर ओभानिएका आँखाहरू
टोलारहेछन् शून्य शून्य
लाचार छन् अखबारहरू र मौन छ बहुमतको सरकार
बिना कुनै झन्डा
हिडिरहेछ साँझमा आफन्तका शोकमग्न मनहरूको जुलुस

उसको गोजीमा थियो सुनौलो रङ्गको कलम
हातमा खोपेको थियो अर्धाङ्गिनीको नाउँ
छातीमा थियो चोटको निसाना र ऊ बोल्थ्यो स्वाधीनताको उखान
उसलाई कसैले देख्यौ कि ?