बैँसको मरण / जारा हुसमन्द / सुमन पोखरेल
मेरा सबै साथी
मरिसके;
हृदयहरू
जससँग म लेख्ने गर्थेँ
गाउने गर्थेँ
स्वतन्त्रताका गीत
इस्फान हिमालमा ।
ती परिचित मुस्कानहरू
चिनिइरहेका आखाँका चमक
हृदयहरू, जसले मलाई चिन्दथे
बराल्लिइरहेछन् रातहरूमा अहिले
नीलो मस्जिदमाथि फन्का लगाउँदै
अजानको स्वरलाई बढारेर फाल्दै
निसास्सिएको शहरको नीलो आकाशबाट
ती स्वरहरू
जसले घाँटी थिचिएर पनि स्वतन्त्रताको गीत गाउँथे
हाम्रा मनमस्तिष्कमा
अनि किन ईश्वरले चाहिँ
दानवको वकालत गरिरहेका?
के उनी दयावान थिएनन्?
के उनमा करूणा थिएन?
के उनले मेरा कानमा बिस्तारै भनेका हैनन्
इरफानका मधूर लोरीहरू
जूनको चाँदीमय गलाबाट ?
के उनले मेरा केश बिस्तारै सुम्सुम्याएका हैनन
रातका करुणामय शीतल बतासले ?
मैले कहाँ छोडेँछु उनलाई?
दावनले कहाँ लुकायो मेरा करूणावतारलाई?
लापरबाही र लोभका
सडेका लाशका चिहानभित्र?
नष्ट भएर गएका विश्वासका आलस्यभित्र?
वा कुदृष्टी र लोभका आगोमा?
मेरा साथीहरू मरिसकेका छन्
सबै सुन्दर र युवा छँदाछँदै
तर जीवन्त छन्, रातका निस्तब्दता हुँदै
तिनका गीतका गुनगुनाहटमा।