बोधिबृक्षका फेदमा / मोहन नागम्मनावर / सुमन पोखरेल
धरातलका गोडामा चप्पल
के बतासमा गुन्गुनाइरहेको बोधीले भे्ट्टाउने छ उनलाई?
के हृदय-वनको अँध्यारो ओढारमा गुँड लगाएर बसेका रहस्यहरू उघारिने छन्.?
कसैले पनि भन्न सक्ने छैन, बुद्ध कहाँ छन् ।
मौन छ धर्ती र आकाशका बीचमा उभिएको रुख
आशिर्वाद चाहनेहरूलाई उनको ठेगाना नबताउने गरी ।
हे ईश्वर, अनन्त ज्ञान देऊ हामीलाई
कसैले देख्ने भएमा चलिरहन्छ दैनिक ध्यान ।
अनेकौँ युद्ध लडिए उभिरहेको रुखको नाकैका अगाडि
अटसमटस भयो इतिहास हत्याका शृङ्खलाले
ज्वालामय भए धर्तीका आँतहरू
र निस्कन सकेनन् केही पनि
असङ्ख्य छन् गोडामुनि किचिएर चिच्याइरहेका हृदयहरू ।
चमचम चम्किँदै हिँस्रक लडाइ लडे कठोर तरवारहरूले
तर सुरक्षित थिए राजसी किल्लाबाट सुदूर दूरीमा रहेका गरीबका छाप्राहरू
सूर्यमा ग्रहण लगायो नगासाकीको बाक्लो धूवाँले
बसव र गान्धीका उपदेशबाट पनि रोकिएन हिंसा ।
बगिरहे बग्ने खोलाहरू, र अटल भएर उभिइरहे उभिएका रुखहरू
बोधीले वाणी प्राप्त गर्नु नै उज्यालो हुनु थियो
कठीन तपस्या गर्नु र माला जप्नुको के अर्थ?
अहम् कुरो जीवन केले जोगाउँछ भन्ने हो
भक्त त्यही हो, जसले मेटाउँछ जात र धर्मको कालो ।
तपस्या र माला जपाइसँग चासो छैन दुनियाँको
प्रेम उम्रियो र हृदयलाई हृदयसँग जोड्यो भने त्यही नै मनग्गे छ
हेर!त्यहाँ मेला लागिरहेछ बेअर्थको
जहाँ थुप्रिनेछ मान्छेको भीड
धेरै टाढा छ पूर्ण ज्ञान,
वर्षौँपछिसम्म भइरहनेछ जसको खोजी।