भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
बोर भो ! / बद्री भिखारी
Kavita Kosh से
नया बनेका भगवानले
आज राती बोर गरे
भगवान बनाउने मान्छेले
भगवानलाइ बोर गरे !
आएर
शब्द-शब्दहरु हुल बाँधेर
एक झप्को
गहिरो निद्रा चोरे
एक ओछ्यान न्यानो चोरे
स्वप्न भंग गराउदै
अनुभूत गराउन बाँकी
नीलो आनन्द चोरे !
सुन्छु –
कानलाई निशाना बनाएर
ठोक्किन आउने बजिया आवाजहरु
कर्कस लाग्छन
मस्तक नै खल्बलिन खोज्छ भजन-बाजाहरुले
युद्ध निम्ति बजेको बिगुलझैं
घरका कोठाहरु
फुटाउलाझैं गरि बजिरहन्छ माइक !
एई,कसले भंग गर्दैछ
भगवानको एकाग्रता ?
कसले बिगार्दैछ
भगवान र मेरा बीचको सम्बन्ध ?
र, को बिथोल्दैछ मेरो निद्रा ?
सुत्नु थियो
निदाउनु थियो
मीठो सपना देख्नु थियो
भोलिको बिपनाको निम्ति
भोलि हिड्ने यात्राको निम्ति
तर आज
म र भगवान
दुवै अनिदो छौ
दुवै बेचैन छौ !
आज राती साह्रै बोर भो !!