भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ब्यूँझेको ब्यथा / युद्धप्रसाद मिश्र

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

गर्ने शीघ्र समाप्त पाशविकता जीवित विद्या पढी
यौटा वर्र्गीय चेतना हृदयमा राखी अगाडि बढी
आर्थिक शैक्षिक शोषणादिहरूका धक्का परी ज्यानमा
आएको छ व्यथा उठेर अहिले संघर्ष मैदानमा

आस्था ज्योतित निर्विकार हुन गै हाम्रा खुलेका गति
आकांक्षा नव पूर्ण सिद्ध नगरी छेकिन्न यो एक रति
रुढी साविक ग्रन्थ आवरुहरू निर्जीव पारी दिन
आएको छ नहारने प्रतिक्रिया छर्लग भै देखिन

राखी गौरव रक्तको छ बदला हो रक्तले नै लिने
धोकाको कठिनाई वीर वर भै टाढा धकेली दिने
हाम्रा रक्त प्रवाह वास्तविकमा हो देशको आवरु
उर्लेको जनक्रान्तिको हृदयका तूफान हामीहरू

पल्टाई दिनमा युगनुयुगका साह्रै ठूला दुश्मन
क्रान्तिको अभिदिग्धता बीच गरी साहित्य आन्दोलन
रुढीग्रस्त विषाक्त दुर्धर कथाका काँधमाथि चढी
हामी छौ सब देशबासीहरूका खोली दिने हत्कडी

छेक्ने जागृति कर्मकाण्डहरूका पाना उडाई दिने
सारा दूषित सम्प्रदाय मतका छाना उडाई दिने
आँधी बर्बर नीतिका विविध छौ बाना उडाइ दिने
दर्वारी जय–गीति वाद्यहरूका ताना उडाई दिने

हाम्रा यी अभियानका प्रगतिमा रोडा भएकाहरू
छातिमाथि गरीवको दगुरने गोडा भएकाहरू
कोटी कोटी मनुष्यका हृदयका फोडा भएकाहरू
गिर्दैछन् तल आज अप्रगतिका घोडा भएकाहरू

मर्यादा अभिमूर्त लोक मतको उत्कृष्टतामा छुदै
चम्ककेका परिबधर्मान युग को बेदाग ऐना हुंदै
पारेको भई साधना शरीर यो अन्यायदेखि तपी
तम्सेको प्रक्रिया सक्षम यता बल्दै गई धप्धपी

हाम्रो तागत धर्मका भ्रमहरूको दुर्ग दालीदिने
सामन्ती अभिशापका जहरिला दाहा फुकालीदिने
जसको कण्डम शस्त्र अस्त्र छ खिया लागिसकेको सव
सक्ला चल्न कहाँ र नाच त्यसको निर्लज्ज नांगो अब