भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ब्रह्रमपुत्र र कामाख्या पुगेर आफैलाई हेर्दा / पवन चामलिङ ‘किरण’

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

ब्रह्रमपुत्रको किनारैकिनार भएर
मेरा जिउँदा मान्छेका लासहरू बग्दै जाँदा रहेछन्,
पानीको वेगसँग पौडन नसकेर हो कि,
नाउ खियाउन नजानेर हो कि ।
मेरा मान्छेहरू सागरमा डुब्दै जाँदा रहेछन् ।
ब्रह्रमपुत्रको पानीमा डुबेर मरेका मेरा मान्छेका लासहरू
छिमेकी गिद्ध, वनबिराला र स्यालहरूले
आपस्तमा बाझ्दै भोज लगाउँदा रहेछन्,
र आजकाल यस भेकमा
मेरा मान्छेका हाडहरू उभ्याएर
ब्रह्रमपुत्रको किनारमा बाँध बाँध्ने काम हुँदो रहेछ ।
 कुन देवताको पापले हो कि,
 कुन जुनीको श्रापले हो—
मेरा मान्छेका कथाहरू आँसुले लेखिँदै गए,
मेरा मान्छेका भग्न व्यथाहरू पसिनाका ज्यालासँगै साटिँदै गए ।



आफ्नै पसिना र रगतको मलले पाकेको बाली पनि
मेरा मान्छेहरूले
मेरा भन्न सक्दैनन्
आफ्नै आँगन र घरमा पनि
किन हो—
 मान्छेजस्तो बाँच्न सक्दैनन् ।
यस्तो पाप र श्रापको संसारमा
मेरा मान्छेका बिपनाहरू सपना बनेका छन् ।
यो कुनै दन्त्यकथा होइन,
यो कुनै काल्पनिक कहानी पनि होइन;
यो त करोडौँ अभागी मान्छेको भग्न कथा हो,
यो त मेरा जिउँदै मरेका मान्छेका
मुर्दा इतिहासको पन्ना हो।
के मेरा बाबु, बाजे र बराजुहरूले
ब्रह्रमपुत्रको पानीमा नुहाएर
हामीलाई लगाइएका पाप र श्रापहरू
पखालेनन् र ?
के मेरी आमा र बजूहरूले
कामाख्या माईको चरणमा शिर राखेर
आफ्ना सन्तानको सुख र शान्तिका निम्ति,
भक्ति र सेवा गर्नेहरूका निम्ति
प्रार्थना गरेका थिएनन्र ?


त्यहाँका देवी–देवतालाई
धूप, अक्षता र फूलपाती चढाएर
पूजा गर्दै आएको कति युग भइसक्यो,
आफ्नो परिश्रमको फलमा फलेका बालीको
न्वागी चढाउँदै आएको
कति शदी भइसक्यो।


 
आफैले बाघ र हात्तीसँग लडेर
आबादी बसाएको बस्तीमा
आज मेरा मान्छेहरू खोइ कहाँ छन् ?
आफ्नै बलिदान र रगतका बुँद–बुँदले
लेखेको इतिहासका पानाहरूमा
मेरा मान्छेहरू खोइ कहाँ छन् ?


ब्रह्रमपुत्र–छाललेपनि
मेरा मान्छेहरूकै घरहरू भत्काएर लान्छ,
प्रत्येक वर्षको बाढीले पनि
मेरा मान्छेहरूकै बाली डुबाएर लान्छ,
सानोभन्दा सानो पैह्रोले पनि
मेरै मान्छेका छातीहरू भत्काएर लान्छ,
यहाँका देवी–देवता रिसाएर हो कि,
कामाख्या र ब्रह्रमपुत्रको आशीर्वाद नपाएर हो कि—
देवता र देवी भएपछि
समान दृष्टि र आशीर्वाद हुनुपर्ने।
ब्रह्रमपुत्र र कामाख्या माईले
सबैको रक्षा गर्नुपर्ने।
— हामीले पुज्नुपर्ने देवता अर्कै छ कि ।
— हामीले खोज्नुपर्ने संसार यहाँ अर्कै छ कि ।