भाउजू र सुनका दाँतहरू / दिनेश अधिकारी
अनुहारमा भन्दा तपाई  
श्रृङ्गारका प्रसाधनहरुमा आकर्षक देखिनुहन्छ  
ब्यवहारमा जस्तोसुकै भए पनि 
पहिरनमा तपाई सभ्य नै ठहरिनुहुन्छ  
मान्छे हुनुको नाता जोडेर  
कसैले बोलेको सायद तपाईलाई सह्य हुँदैन 
र, यसरी हेरिरहनु भएको छ मतिर 
बोल्दा- 
लाग्छ, तपाईको ओठको लाली बिग्रन्छ  
अथवा 
लाग्छ, तपाईका सुनका दाँतहरुको मूल्य घट्छ  
 
मलाई अविश्वास भइरहेछ तपाईसँग 
मलाई डर लागिरहेछ तपाईको श्रीमान्-भविष्यसँग 
सर्पको बरु विश्वास गर्न सकिन्छ 
बरु बाघसँग मित्रता हुन सक्छ  
ठाउँ-कुठाउँ जता पनि टोक्ने 
सुनका दाँतहरुको कुनै भर हुँदैन  
सुनका दाँतहरुलाई मायाले पिरोल्दैन 
म तपाईसँग सोधिरहेछु, भाउजू  ! 
नढाँटी भन्नोस् त ! 
कुनै दिन के यस्तो त देख्नु पर्दैन- 
कि, मायातुर भएर काखमा पल्टन आउँदा तपाईको श्रीमान् 
आफ्नो रेशमी सारी खुम्चने पीरले  
तपाई उसबाट पर-पर पन्सनुहुन्छ 
अथवा- 
कुनै दिन रोगले थलिए नै भने तपाईको श्रीमान् 
उसको ऐया-आत्था सुन्नु नपरोस् भनेर 
तपाई झन्-झन् रेडियोको भोलम बढाउन थाल्नुहुन्छ  
 
सुनको खनखनाहट सुनेर 
यत्ति लठ्ठ भइसक्नुभएको छ तपाई कि, 
आफ्नै भन्दा बढी अब तपाईलाई सुनको माया लाग्छ 
र, पनि भनिरहेछु 
भाउजू   ! 
रुन बरु कोही नभए पनि हुन्छ 
हाँस्न कोही आफन्त अवश्यै चाहिन्छ 
मान्छेसँग किन ब्यर्थै भाग्नुहुन्छ यसरी? 
एउटा मान्छेले पसिना काढ्यो भने 
सुनका थुप्रै ढिक्काहरु जुटाउन सक्छ 
र, सुन 
सुनको अन्तिम प्रयोजन के त? 
गहनाकै रुप धारण गरोस्-सही  
यसले तपाईको सग्लो शरीरलाई 
मात्र छिया-छिया बनाउन सक्छ 
ट्वाङट्वाङती प्वालहरु पार्न सक्छ 
कमभन्दा कम यत्ति त सम्भि्कदिनोस् भाउजू ! 
सुनले सधैँ मान्छे खान्छ 
भाउजू ! 
सुनले एक दिन तपाईलाई पनि खान्छ  
	
	
	