भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भारतीय हुनलाई मेरो अनुहार कस्तो हुनुपर्छ ? / केवलचन्द्र लामा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आँखैमा राख्दा पनि नबिझाउँने के हो ?
आमा कि देश ?
आमा, बाबा र भारतीय पानी मुछिएर बनिएको
भारतीयको अनुहार कस्तो छ ?
म तुरुवनन्तपुरमबाट उकालो चढेको
कालो पसिना तर म मद्रासी होइन ।
भारतीय भन्नलाई मेरो अनुहार कस्तो हुनुपर्छ ?
म सर्वविद्याको राजधानी काशी पढ्दै गरेको
अरुणाचली छात्र, म चिनिया होइन
भारतीय भन्नलाई मेरो अनुहार कस्तो हुनुपर्छ ?
म काले अग्ले घुँघुरिएको केश,
यस्तो हुन्न र भारतीय अनुहार ?
म पुडके गहुँगोरो पहाडबाट झरेको
अनि टिस्टा-ब्रह्मपुत्रमा
बगेको म दुर्गा मल्ल ।

मेरो सालिक छ संसद भवनमा ।
मलाई विदेशी भन्छौ भने
कस्तो हुनुपर्छ भारतीय अनुहार ?
म राधाकृष्णन्, म पटेल र म सुभाषचन्द्र ।
म वीरबहादुर, म सोमरा म परमिन्दर ।
म मन्दिर, स्वर्ण मन्दिर, म गिर्जाघर,
मस्जिद र गुम्बा ।

कस्तो हुन्छ यी सबैको घुलमिल अनुहार ?
मलला जस्तै म शबनम
म बुर्काको काखमा राख्छु यो देश
मेरो अनुहार कस्तो हुनुपर्छ ?
म भीमराव अम्बेडकरको मित्र अडिबहादुर गुरुङ
१९४९ को भारतीय संविधानको मस्यौदामा
सहीछाप गरेको छु
भारतीय भन्न मेरो अनुहार कस्तो हुनुपर्छ ?
नेहरूको पालामा महासचिव भएर भारतीय राष्ट्रिय काङ्ग्रेस
सम्हालेको म थियोडोर मनेन,
म गोर्खा हुँ इज्रायली यहुदी होइन,
भारतीय भन्नु मेरो अनुहार कस्तो हुनुपर्छ ?

फुटबलको चन्दनसिंह, हकीको ध्यानचन्द,
गीतकी मङ्गेशकर र नेता नमुद्रीहरू
शिखरदेखि सागरसम्म छन् ।
छेत्रीले गोल हाल्दा, तेन्दुलकरले सेन्चुरी हान्दा,
हजारिकाले गाउँदा र तेनजिङले चुचुरो टेक्दा
रमाउने अनुहार एउटै छ त ?
नेप्टे, चेप्टे, चुच्चे, फेडे, काले,
गोरे, राते, फुस्रे सब एउटै ।

अब तिमी नै भन न –
भारतीयको अनुहार कस्तो हुनुपर्छ ?